बुधबार, १८ असार २०८२ । थाइल्यान्डको संवैधानिक अदालतले मंगलबार प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई निलम्बन गरेको छ। केहि समय पहिले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो।
लिक भएको जुन १५ को रेकर्डिङ अनुसार प्रधानमन्त्री पेटोङटार्नले कम्बोडियाका पूर्व नेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गर्ने क्रममा ‘काका’ भन्दै सम्बोधन गरिन् र सो फोन बार्ताको क्रममा एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख समेत गरिन् । उक्त फोनवार्ताले व्यापक जन आक्रोश निम्त्याएको थियो।
३६ जना सिनेटरले लिक भएको “जुन १५ को टेलिफोन संवादलाई” आधार मानेर हालेको निबेदन पस्चात थाइल्यान्डको संवैधानिक अदालतले सिनावात्रालाई निलम्बन गरेको हो ।
संवैधानिक अदालतले ७–२ को बहुमतले पेटोङटार्न सिनावात्रालाई जुलाई १ देखि प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गरेको हो ।
थाइल्यान्डको कम्बोडियासँग लामो समयदेखि सीमा लगायत अन्य क्षेत्रीय विवाद चलिरहेको छ । थाइल्यान्ड र कम्बोडियाबिच ८१७ लामो बोर्डर सिमाना छ ।
३८ वर्षीय पेटोङटार्न सिनावात्रा अरबपती तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन्। पेटोङटार्न सिनावात्राले प्रधानमन्त्री को पद १० महिना पहिले मात्र सम्हालेकी थिईन्।







