असोज १५, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानको माग गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बुधबार बसेको केन्द्रीय पदाधिकारी र केही नेता सम्मिलित बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न दबाव दिने निर्णय गरेको हो ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको, देशमा भ्रष्टाचार व्यापक बन्दै गएको भन्दै कांग्रेसले यी विषयमा संसदमा छलफल गर्न विशेष अधिवेशन बोलाउनुपर्ने कांग्रेसको भनाइ छ । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाका विषयमा समेत छलफल भएको पदाधिकारी बैठकले कोभिड १९ को रोकथाम र नियन्त्रणको काम प्रभावकारी रुपमा गर्न नसकेको र देशमा व्यापक भ्रष्टाचार बढेको निष्कर्ष निकालेको छ ।
यस विषयमा सशक्त आवाज उठाउनका लागि सरकारलाई दबाब दिन संसदको विशेष अधिवेशन आह्वान गर्ने निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । बढ्दो भ्रष्टाचार तथा बेथिति पनि बढेको अवस्थामा सरकार भने मौन रहेको, नागरिकको बेरोजगारीको समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको कांग्रेसको भनाइ छ ।
कांग्रेसले सरकारविरुद्धमा सडक र संसदबाट एकसाथ संघर्ष गर्ने कार्यक्रम तय गर्ने विषयमा पनि छलफल भएको डा. महतले बताए । उक्त दलले सामाजिक दुरी कायम गरेर सडक आन्दोलन पनि अघि बढाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।
पदाधिकारी बैठकमा रामचन्द्र पौडेल समूहले दर्ता गराएको विरोधपत्रका विषयमा पनि छलफल भएको थियो । उक्त विषयमा केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिने महतले बताए ।







