काठमाण्डु – जेनजी आन्दोलनमा घर जलेपछि शीर्ष नेताहरू घरवारविहीन भएका छन् ।जेनजी आन्दोलनकारीहरूले घर जलाएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित थुप्रै नेताहरू अहिले घरवारविहीन भएका हुन् ।
एमाले अध्यक्ष ओलीको भक्तपुरको बालकोटमा रहेको घर , माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको ललितपुरको खुमलटारमा रहेको निवास,देउवाको बुढानिलकण्ठको निवास आगोले जलेर खरानी भएको छ । माधवकुमार नेपालको कोटेश्वरमा रहेको घर, झलनाथ खनालको डल्लुस्थित घर, पूर्वप्रधानमन्त्री डा । बाबुराम भट्टराई, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लगायतका नेताहरूको घर जलेको छ ।
पूर्वमन्त्रीहरू प्रकाशमान सिंह, नारायणकाजी श्रेष्ठ, अग्निप्रसाद सापकोटा, नन्दकिशोर पुन, कृष्णबहादुर महरा, विष्णु पौडेल, रघुवीर महासेठ, राजेन्द्र महतो, गगनकुमार थापा, शंकर पोखरेल, वर्षमान पुन, रामशरण महत, प्रकाशशरण महत, योगेश भट्टराई, गोकर्ण विष्ट, चक्रपाणी खनाल, गिरिराजमणि पोखरेल, रामकुमारी झाँक्री, गोकुल बास्कोटा, महेश बस्नेतसहित नेताहरूको घर पनि जलेर नष्ट भएको छ । कतिपय नेताहरूको घरमा तोडफोड र लुटपाट समेत भएको छ ।







