यूएईले नेपालीलाई एकाएक भिसा रोक्यो, छैन नेपाल सरकारलाई जानकारी

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट तथा बिजिनेश भिसा दिन रोक लगाएको छ । यूएईले उक्त भिसाहरु दिन एकाएक किन रोक लगायो भन्नेबारे औपचारिक रूपमा जानकारी नेपाल सरकारलाई अहिलेसम्म गराएको छैन ।

सोमबार बिहानदेखि सबैजसो भिसा आवेदन अस्वीकृत हुन थालेको पुष्टि भएका छन् । यूएई सरकारले अनलाइनमार्फत नै भिसा जारी गर्दै आएको छ ।
यूएईले गत वर्ष हिंसात्मक आन्दोलनसँगै शेख हसिनाको सत्ता ढलेपछि बांग्लादेशी नागरिकलाई पनि भिसामा प्रतिबन्ध लगाएको थियो। जेनजी आन्दोलनपछिको सरकार परिवर्तनसँगै यूएईले नेपालीलाई भिसा बन्द गरेको हो।

यूएईले भिसा प्रतिबन्ध लगाएका देशहरूको आधिकारिक सूचीमा अहिलेसम्म नेपालको नाम समेटिएको छैन। यूएई भिसा अनलाइन पोर्टलका अनुसार करिब १० देशलाई प्रतिबन्ध लगाएको उक्त सूचीमा बांग्लादेशसहित अफगानिस्तान, लिबिया, यमन, सोमालिया, लेबनान, क्यामरुन, सुडान र नाइजेरिया रहेका छन्।