काठमाडौं। प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले देशभरिका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा गरेका छन् । उक्त सरुवाको क्रममा काठमाडौंका ६ वटा वृत्तमा इन्चार्ज पनि फेरिएका छ्न्।
प्रहरी वृत्त स्वयम्भूमा डिएसपी मोहनमणि अधिकारीलाई सरूवा गरिएको छ। प्रहरी वृत्त बौद्धका इन्चार्जमा डिएसपी सन्तोष रोकालाई सरूवा गरिएको छ। प्रहरी वृत्त मालीगाउँमा डिएसपी धनबहादुर बोहरालाई सरूवा गरिएको छ।
प्रहरी वृत्त दरबारमार्गका इन्चार्ज डिएसपी राजकुमार श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखा सरूवा गरिएको छ। उनको स्थानमा कर्णाली प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखाका डिएसपी नारायण डाँगीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज डिएसपी प्रह्लाद कार्कीलाई नगर प्रहरी कार्यालय काठमाडौंमा खटाइएको छ। उनको स्थानमा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्वेषण योजना शाखा पोखराका डिएसपी जनार्दन घिमिरेलाई खटाइएको छ। त्यस्तै प्रहरी वृत्त गौशालाका इन्चार्जमा डिएसपी प्रकाश रिमाललाई खटाइएको छ।
उनीहरूलाई असोज महिनाको तलबभत्ता हाल सरूवा भएकै दरबन्दीबाट पाउने गरी सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।







