असोज १६, काठमाडौं ।
कोभिड–१९ को महामारीकै बीच पनि एसियाली विकास बैंक (एडिबी)ले सहयोग गरेका काम चलिरहेका छन् । यस बैंकले लगानी गरेका परियोजना निरन्तर निर्माण र सञ्चालन भइरहेको बताइएको छ ।
महामारीको असहज परिस्थितिबीच त्रिभुवन विमानस्थलमा ३ सय मिटर धावनमार्ग बिस्तार सम्पन्न भएको छ । यसैगरी भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काममा लकडाउनकै अवधिमा ५ प्रतिशत हाराहारी प्रगति भएको देखिएको छ । यी दुबै आयोजना एसियाली विकास बैंकको लगानीका परियोजना हुन् ।
कार्यस्थलमा निर्माण गर्दा कोभिड–१९ जोखिम व्यवस्थापनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडुअर (एसओपी) लागू गरेर विकास परियोजनालाई अगाडी बढाइएका कारण काम धेरै प्रभावित हुन नपाएको एडीबीका अधिकारीहरुले बताएका छन् ।
बैंकले आफ्ना सतप्रतिशत लगानी रहेका विकास परियोजनामा एसओपी लागू गरेर निर्माण कार्य अगाडि बढाएको थियो । एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको एडीबीले जनाएको छ ।
एसओपी अन्तर्राष्ट्रिय उत्तम अभ्यास तथा विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य तथा विकाससँग सम्बन्धित संस्थाहरुले जारी गरेका निर्देशिकालाई समेटेर बनाइएको हो । उनीहरूले गत मे महिनाबाटै यो लागू गरेका थिए ।
अन्तरर्राष्ट्रिय उत्तम अभ्यास अवलम्बन गर्दै कार्य शुरु गर्दा पालना गर्नुपर्ने एसओपी बनाएर आयोजना कार्यान्वयन निकायहरुलाई परिपत्र गरिएको थियो । मार्चमा लकडाउन सुरु भएपछि कोडिभका कारण विकास आयोजना प्रभावित हुने भन्दै सुरक्षाका मापदण्ड अपनाएर परियोजना कार्यान्वयनलाई अगाडि बढाईएको बैंकको भनाइ छ ।
एसओपीमा निर्माण कार्य सुरु गर्दा व्यवस्था गर्नुपर्ने मुख्य दुई क्षेत्रहरु कार्यस्थलको व्यवस्थापन र कर्मचारीहरुको जनस्वास्थ्यको व्यवस्थापनका विषयमा पालना गरिनुपर्ने व्यवस्थाहरु स्पष्ट रुपमा दिइएको बैंकले जनाएको छ ।
निर्माण व्यवसायीको कार्यालय व्यवस्थापनमा कार्यालय क्षेत्रको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन, कोभिड संक्रमण रोकथामका लागि कर्मचारीले पालना गर्ने व्यतmिगत अभ्यासहरु पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन शुरु गरिएको थियो । त्यसक्रममा भौतिक दुरी, व्यक्तिगत व्यवहार, बैठकमा भाग लिदा गर्नुपर्ने नियम, निर्माण क्षेत्रमा जाँदा अपनाउनु पर्ने उपाय स्पष्ट रुपमा जानकारी गराइएको थियो ।
त्यसैगरी निर्माण कार्य सुचारु गर्दा अपनाइने कार्यविधिहरुमा काम सुरु गर्नु अघि कामदारको व्यवस्थापन, प्रवेशद्घारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलिकरण, सामान लोड(अनलोड गर्ने तरिका, पीपीईको प्रयोग एवं कामदारहरुको बस्ने शिविर (क्याम्प) को उचित व्यवस्थापन गरिएको सिंहले बताए । आतकालीन प्रोटोकलतर्फ आकस्मिक उपचारको तयारी, संक्रमणयुक्त केसमा आकस्मिक प्रोटोकल एवं क्वाराईण्टाईनको व्यवस्था पनि आयोजनाहरुमा गरिएको छ ।
बैंकको लगानीमा निर्माणाधिन परियोजनाहरले पहिले नै एसओपीको विकास गरेको र प्रयोगमा पनि ल्याउनु सुखद् भएको उनले बताए । विकास परियोजनालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले एडिबीले एसओपी बनाएर निर्माणलाई निरन्तरता दिएको हो ।







