पर्यटकीय आकर्षणका लागि एक्लेडाँडामा बुद्धको मूर्ति

असोज १६, तनहुँ ।
शुक्लागण्डकी नगरपालिकाले एक्लेडाँडामा पर्यटकीय पूर्वाधार निर्माण गर्न लागेको छ । वडा नं. ८ स्थित एक्लेडाँडामा बुद्धको मूर्तिसहित पर्यटकीय पूर्वाधार निर्माण गरी धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्य राखिएको छ ।

वडा कार्यालयले गौरवको योजनाको रुपमा सूचीकृत गरेको उक्त ठाउँमा पूर्वाधार निर्माणका लागि डिपिआर तयार भइसकेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । उनका अनुसार वडा कार्यालयको पाँच लाख रूपैयाँ बजेटमा बन्दाबन्दीकै अवधिमा जिओ इन्जिनियरिङ कन्स्लटेन्सीले डिपिआर निर्माण गरिसकेको छ ।

एक्लेडाँडामा बुद्धको मूर्ति निर्माणका लागि माटो परीक्षणसमेत सम्पन्न भइसकेको छ । वडा कार्यालयले नयाँ गन्तव्यको रुपमा उक्त ठाउँको पहिचान गरेको छ । वडाभित्र रहेका पर्यटकीय गन्तव्यको पहिचान, प्रबद्र्धन गर्दै लैजाने उद्देश्य राखिएको रेग्मीले बताए ।

‘सम्भावना बोकेर पनि ओझेलमा परेको यस ठाउँलाई उजागर गर्ने उद्देश्यसहित पर्यटकीय गन्तव्य बनाउन खोजेका हौं,’ रेग्मीले थपे, ‘चालु आर्थिक वर्षमै यस ठाउँमा पूर्वाधार निर्माणका काम शुरु हुन्छ ।’ यस आथिर्क वर्षमा नगरपालिकाले १० लाख रूपैयाँ विनियोजन गरिसकेको छ । उक्त बजेटबाट बाटो निर्माण, सिढी र रेलिङ निर्माणका काम शुरु गरिनेछ ।

डिपिआर अनुसार बुद्धको मूर्तिसहित अन्य पूर्वाधार निर्माणका लागि करीब तीन करोड बजेट लाग्ने अनुमान गरिएको छ । तिब्बतीयन क्याम्प नजिकै भएकाले डाँडामा बुद्धको मूर्ति निर्माण गरिने र पूजाआजाको व्यवस्था पनि मिलाइनेछ ।

त्यस्तै उक्त ठाउँमा अष्टवाराहीको मूर्ति पनि निर्माण गर्ने प्रस्ताव छ । वडाध्यक्ष रेग्मीका अनुसार यस ठाउँमा पार्क, बनभोज स्थललगायत अन्य पूर्वाधार निर्माण गर्ने योजना छ ।