असोज १६, काठमाडौं ।
एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । लकडाउन अवधिमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी भएको बताइएको छ ।
हाल कार्यालयले दैनिक एक हजार आठ सयदेखि दुई हजार पाँच सय वटा लाइसेन्स दैनिक वितरण गरिरहेको जनाएको छ । बन्दाबन्दीकै बीचमा कार्यालयले अनुमतिपत्र वितरण केही समयका लागि रोकेको कार्यालयका प्रमुख डम्बरबहादुर कार्कीले बताए ।
उनका अनुसार अहिले सकेसम्म स्वास्थ्य सावधानी अपनाएर वितरणको काम भइरहेको छ । कार्यालयले दूरी कायम गर्न प्रचारात्मक सामग्री टाँसेको छ भने साबुनपानी र स्यानिटाइजरको व्यवस्था गरेको छ । कार्कीले भने, ‘हामीले स्वास्थ्य सावधानी अपनाउन लगाउनेभन्दा सेवाग्राही आफै पनि सजग हुनुपर्छ ।’
सरकारले गत चैतदेखि गरेको बन्दाबन्दी असारदेखि खुला गरेपछि कार्यालयले असारसम्मको अनुमतिपत्र वितरण गरेको छ । कार्यालयले दिँदै आएको तीन सेवामध्ये छापिएर आएका अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको छ भने नयाँ अनुमतिपत्र हालका लागि स्थगन गरेको छ ।
कार्यालयमा दूरी कायम गर्न कठिन भएकाले हालका लागि नयाँ लाइसेन्स परीक्षा स्थगित गरिएको हो । ‘प्रदेश सरकारले निर्णय नै गरेर नखुलाउँदासम्म यो सेवा तत्काल खुल्दैन,’ कार्कीले भने ।
काठमाडौँ उपत्यकालगायत प्रदेशभरका विभिन्न जिल्लामा सङ्क्रमण बढिरहेकाले यहाँका सबै कार्यालयले नयाँ चालक अनुमतिपत्र बन्द गरेका छन् । केही वर्ष पहिलेसम्म चालक अनुमतिपत्र बनाउन यही कार्यालयमा भीड हुन्थ्यो ।
उपत्यकामा हाल चार कार्यालयबाट यो सेवा दिइँदै आइएको छ । सबैभन्दा बढी सेवाग्राहीको भीड भने एकान्तकुनास्थित कार्यालयमा नै देखिन्छ । अहिले पनि यहाँ खटिएका सुरक्षाकर्मीलाई भीड व्यवस्थापन गर्न कठिन हुने गरेको छ ।







