शनिबारका लागि नेकपाले बोलायो सचिवालय बैठक

असोज, १६ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिवारका लागि सचिवालय बैठक बोलाएको छ ।

नेकपाले शनिवार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि सचिवालय बैठक बोलाएको हो ।

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भएको भेटवार्तामा शनिबार सचिवालय बैठक बोलाउने समझदारी बनेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजदूतलगायतका नियुक्तिबारे पार्टीमा सल्लाह नगरी निर्णय लिएको भन्दै नेकपा शीर्ष नेताहरूबीच फेरि विवाद सिर्जना हुने अवस्था आएपछि सचिवालय बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री ओलीले बिहीवार अमेरिकाका लागि राजदूतमा आफ्ना आर्थिक सल्लाहकार तथा पूर्वअर्थमन्त्री युवराज खतिवडा र बेलायतको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गरेका थिए ।

राजदूत नियुक्तिका विषयमा नेताहरुले जनाएको असन्तुष्टिका सम्बन्धमा छलफल गर्न अध्यक्ष प्रचण्ड शुक्रबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको थिए ।