इयुको प्रस्ताव : ‘नेपालको हवाइ सेवा सुदृढ बनाउन सहयोग गर्न चाहन्छौं’

असोज १७, काठमाडौं ।
युरोपियन युनियन (इयु)ले नेपालको हवाइ सेवा सुदृढ बनाउन इच्छुक रहेको बताएको छ । शुक्रबार साँझ सम्पन्न नेपाल र इयु कमिसनबीचको १२औं बैठकमा यस्तो प्रस्ताव आएको हो ।

हवाइ सुरक्षाका क्षेत्रमा नेपाल उड्ययन प्राधिकरणले हाल चालेका कदमलाई अझ प्रभावकारी र नतिजामुखी बनाउन प्राविधिक परियोजनाको विकास गर्न चाहेको इयुकै एक अंग इयु कमिसनले उल्लेख गरेको छ । बैठकमा नेपाली पक्षले हवाइ सुरक्षाका लागि नेपालले गरिरहेका कार्यबारे इयुलाई जानकारी गराएको थियो ।

हवाइ उडानलाई अझ सुरक्षित बनाउन सरकारले ल्याउन लागेको नेपाल हवाइ सेवा प्राधिकरणको विधेयक हाल सदनमा विचाराधीन छ । हिउँदे अधिवेशनबाट सो विधेयक पारित गर्ने सरकारको तयारी छ ।

नेपालको हवाई उडानलाई सुरक्षित, स्तरीय, प्रभावकारी एवं विश्वसनीय बनाई सुविधायुक्त विमानस्थलको निर्माण, स्तरोन्नती र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विमानस्थल तथा एयर नेभिगेसन सेवा सन्चालन गर्नका लागि सरकारले सो प्राधिकरणको स्थापना गर्न लागेको हो ।

यस विधेयकलाई इयुले सकारात्मक भन्दै यसको कार्यान्वयन सम्बन्धमा थप सुझाव दिन चाहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको हवाई सुरक्षाको अबस्थामा कुनै पनि परिवर्तन नआएको भन्दै युरोपियन कमिसनले इयुका २८ मुलुकमा एक दशकदेखि नेपालका एयरलाइन्सलाई प्रतिबन्ध लगाउँदै आएको छ ।

सुरक्षाका कारणले नेपाली विमान कम्पनीले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नसकेको भन्दै उडानमा प्रतिबन्ध लगाइएको हो । यद्यपि अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणले भने सन् २०१७ मा नै नेपाललाई कालोसूचीबाट हटाएको छ ।

अन्तर्राष्ट्रिय मात्र होइन, युरोपियन युनियनले अहिलेका कानुन र नीतिमा परिवर्तन ल्याउन र नेपालमा हेलिकप्टर दुर्घटनाको संख्या घटाउन आग्रह गरिरहेको छ । शुक्रबारको संयुक्त आयोगको बैठकमा यी विषयमा कुराकानी भएको थियो ।

नेपालले भने युरोपियन कमिसनलाई नेपाली जहाजलाई युरोपियन आकाशमा उडान अनुमति दिनको लागि निरन्तर आग्रह गरिरहेको छ । तर पछिल्ला वर्षहरुमा नेपालले हवाई सुरक्षाको अवस्थामा निकै प्रगति गरेपनि त्यो पर्याप्त नभएको भन्दै अनुमति दिइएको छैन ।

संयुक्त कमिसनको वैठकमा यसबाहेका अन्य थुप्रै सहकार्यका विषयहरुमा समेत कुराकानी भएको छ । गत अप्रिलमा इयुले नेपालको अर्थतन्त्रलाई उकास्नको लागि ७५ मिलियन युरो सहयोग गरेकोमा नेपालले त्यसको स्वागत गरेको छ ।

कार्यक्रममा इयुले कोरोना भाइरसलाई प्रयोग गरेर प्रजातान्त्रिक स्पेस र अन्य स्वतन्त्रताहरुलाई सीमित गर्ने कार्य युरोप मात्र होइन अन्त कतै पनि हुन नहुने कुरामा जोड दिएको थियो । इयुले नेपालले राजनीतिक क्षेत्रमा प्राप्त गरेको उपलब्धीको प्रशंसा गर्दै आधुनिक र प्रगतिशील संविधान कार्यान्वयनको स्वागत गरेको थियो ।

इयुले संक्रमणकालीन न्यायका सम्वन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संयुक्त राष्ट्रसंघमा गरेको प्रतिबद्धताको स्वागत गरेको छ । नेपालको संक्रमणकालीन न्याय युरोपियन युनियनको एकदमै धेरै चासो भएको क्षेत्र हो ।

नेपाल र इयुबीच व्यापार प्रवद्र्धन गर्ने विषयमा समेत कुराकानी भएको थियो । व्यापारका माध्यमले नेपालको विकासमा सहयोग गर्ने प्रतिवद्धता इयुले जनाएको छ ।

वर्तमान सार्कको अध्यक्षको हैसियतले नेपालले यसका प्राथमिकता र क्रियाकलापहरुको बारेमा जानकारी गराएको थियो । प्रत्युत्तरमा इयुले क्षेत्रिय एकीकरणमा विशेष जोड दिएको थियो । बैठकमा दुवै पक्षले जलवायु परिवर्तन, मानव अधिकार, वहुपक्षियता, कनेक्टिभिटी लगायतका क्षेत्रमा सहकार्य बढाउने सहमति गरेका छन् ।