माछापालक कृषकलाई गाउँपालिकाले दियो अनुदान

असोज १७, काभ्रेपलाञ्चोक ।
रोशी गाउँपालिका वडा नं. ९ का कुमार लामाले पिन्थलीवेँशीमा ठूलो दूई वटा पोखरी बनाएर माछा पाल्न थालेका छन् । करिब आठ लाख रूपैयाँमा माछापालनको संरचना निर्माण पश्चात अहिले सो पोखरीमा माछाका भुरा हालेर हुर्काउने काममा उनी व्यस्त छन् ।

बजार क्षेत्र ठूलो भएको र त्यहाँ अरु त्यस्तो व्यवसाय नभएपछि माछापालन शुरु गरेको लामाले बताए । दुई महिनादेखि सञ्चालित उनको व्यवसायमा दुई जनाले रोजगारी पाएका छन् । माछालाई दाना दिने, पानीको कुलो बनाउने र चरा धपाउने जिम्मेवारी दिइएको छ ।

उनी मात्रै होइनन्, त्यसरी माछा पाल्नेमा सोही गाउँपालिका वडा नं. ७ का भीम लामा र वडा नं. ११ का बलराम आलेमगर पनि छन् । उनीहरूले पनि व्यावसायिक माछापालन सुरु गरेका छन् ।

रोशीमा अहिले पिन्थलीवेँशीमा रहेको पोखरीमा ४० हजार माछाका भुरा हालेर माछापालन शुरु गरिएको छ । संरचना निर्माण गरेसँगै पोखरीको क्षमताको आधारमा माछाको भुरा उपलब्ध गराइदिएको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाको भनाइ छ ।

यस्तै वडा नं. ७ को चारसय फाँटमा ४० हजार र वडा नं. ११ मा १२ हजार माछाको भुरा उपलब्ध गराएको अध्यक्ष लामाले जानकारी दिए । गाउँपालिकाले अनुदान दिएपछि यहाँ माछापालन व्यवसाय बढेको हो ।

‘गाउँपालिकाले कार्यक्रम बनाएर प्रोत्साहन गर्ने हो । बाँकी काम कृषक आफैले गर्छन् । ‘जसको मन, उसैको संरक्षण’ नारासाथ कृषि क्षेत्रका आम कृषकलाई सहभागिता गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ अध्यक्ष लामाले भने, ‘अहिले माछापालनका लागि नगद अनुदानका साथै माछाका भुरा उपलब्ध गराएका छौँ ।’

अध्यक्ष लामाका अनुसार माछापालक कृषकमध्ये माछाको भुरासहित कुमार लामालाई साढे तीन लाख, बलराम आलेमगर र भीम लामालाई जनही अढाइ लाख रूपैयाँ नगरपालिकाले अनुदान दिइरहेको छ । गाउँपालिकाले स्थानीय कुखुरा, मौरीपालनको लागि घार र उन्नत जातको बाख्रापालनलाई अनुदान दिँदै आएको गाउँपालिका अध्यक्ष लामाले बताए ।
(रासस)