काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन पूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना रोक्न निर्वाचन आचारसंहिता परिपालनामा कडाई गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन जारी गरेको छ।
यस अघि माघ १३ मा निर्वाचन आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, निस्पक्ष , पारदर्शि एवं विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकहरुलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।
सोहि बमोजिम गृहले सम्बन्धित जिल्ला भित्र निर्वाचन आचारसंहिता कार्यान्वयनका विषयमा प्राप्त जिम्मेवारी अनुरुप नियमित अनुगमन गरी प्रभावकारीरुपमा आचारसंहिता पालना गर्ने कार्य गर्न गराउनु र सो सम्बन्धमा गरिएका कार्यहरुको नियमितरुपमा मन्त्रालयमा प्रतिवेदन गर्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गरेको हो।
फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनका लागि माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएकोमा आचारसंहिता लागू भएको १० दिन नबित्दै केहि राजनैतीक दलका वरिष्ठ नेताहरुलाई आचारसंहिता उल्लघंनको कसूरमा निर्वाचन आयोगले स्पष्टिकरण सोधिसकेको छ।







