२१ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा छुवाछूत मानव सभ्यताविरुद्धको एउटा कलङ्क र सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपज भएकाले यस्ता विभेदविरुद्ध अग्रपङ्क्तिमा रहेर नेकपाले सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै दोषीलाई कारवाहीको माग गरिएको छ ।
अन्तरजातीय प्रेम सम्बन्धमा रहेका जाजरकोटका युवा नवराज विकसहित पाँच जनालाई रुकुमपश्चिमा घेरा हाली कुटपिट गरी भेरी नदीमा फाल हाल्न बाध्य भएपछि उनीहरुको शव फेला परेको सार्वजनिक भएको थियो ।
सो घटनामा अझै एक युवा बेपत्ता छन् । महासचिव पौडेलले संविधानमा दलित समुदायका निम्ति विशेष व्यवस्थासमेत गरिएको तर संवैधानिक, कानूनी हिसाबले अग्रगामी परिवर्तन र उपलब्धि भएपनि व्यवहारमा अझै दलित समुदायमाथि विभेद र हिंसाका घटना देखा पर्नु गम्भीर चिन्ताको विषय भएकाले सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको उल्लेख गरेका छन् ।







