असोज १९, काठमाडौं ।
पारिश्रमिक पाउन रिले अनसनमा बसिरहेका पत्रकारलाई नेपाल कम्युनिस्ट पार्टिका प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् । सोमबार अनसनस्थलमै पुगेर उनले ऐक्यबद्धता जनाएका हुन् ।
उनले लेखेका छन्, ‘श्रमजीवी पत्रकारहरूले मिडिया हाउसबाट भोग्नुपरेको शोषण, उत्पीडन र सिर्जित समस्यालाई लिएर पत्रकार कर्मचारी संयुक्त संघर्ष समितिको तर्फबाट आयोजित पाँच दिने रिले अनसन कार्यक्रमप्रति ऐक्यबद्धता प्रकट गर्दछु र उहाँहरूले राख्नुभएका जायज मागहरूको अविलम्ब सम्बोधन होस् भनी सम्बन्धित पक्षसँग अनुरोध गर्दछु ।’
कोरोनाको बाहनामा जबर्जस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका र तलब माग्दा दुर्गम क्षेत्रमा सरुवा गर्नुका साथै महिनौंदेखि तलब नदिने सञ्चार संस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले बिहीबारबाट रिले अनसन सुरु गरेका हुन् ।
लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजीवी पत्रकार ऐनअनुसार सुविधा माग्दा कामबाटै वञ्चित गराइएपछि पत्रकारहरु रिले अनसनमा बसेको बताएका छन् ।
पत्रकार महासंघको समन्वयमा बिहीबार पीडित पत्रकार र कर्मचारी संयुक्त संघर्ष समितिले पहिलो चरणको आन्दोलन स्वरुप रिले अनसन सुरु गरेको जनाएको छ ।







