असोज १९, विराटनगर ।
विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न सोमबार त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको विमानस्थलमा स्तरोन्नति गर्न प्रदेश सरकार, विराटनगर महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच भएको समझादारीपत्रमा हस्ताक्षर भएको हो ।
प्रदेश सरकारका तर्फबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मेघनाथ काफ्ले, नेपाल सरकारका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विराटनगर महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
पूर्वको सबैभन्दा पुरानो यस विमानस्थललाई निकै अगाडिदेखि क्षेत्रीय वा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गर्न राजनीतिक दल, उद्योगी, व्यापारी र पर्यटन व्यवसायीहरुले माग गर्दै आएका छन् । कहाल आन्तरिक उडान मात्र हुने यो विमानस्थल अन्तर्राष्ट्रियस्तरको भएमा यहाँबाट बङ्गलादेश, भारतका विभिन्न राज्य, भूटान र सिक्किमसँग सिधै हवाई यात्रा गर्न सकिने छ ।
समझदारीपत्रमा विमानस्थलको धावन मार्गलाई तीन हजार मिटरको बनाउने, धावन मार्गका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने, टर्मिनल भवन निर्माण गर्ने, भौतिक संरचना तयार गर्ने जस्ता कार्य गरिने उल्लेख छ । साथै यसमा सरकारले ५०, प्रदेश सरकारले ४० र विराटनगर महानगरपालिकाले १० प्रतिशत खर्च व्यहोर्ने प्रावधान राखिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सो कार्यक्रमको उद्घाटन गर्दै नेपालको सङ्घीयता मित्रत्व प्राणालीमा आधारित रहेको बताए । उनले मुलुकको तीव्र गतिमा विकास गर्न तीनै तहका सरकार सार्वभौम भएको उल्लेख गर्दै विराटनगर विमानस्थलको स्तरोन्नतिले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मद्दत पुग्ने विचार राखेका थिए ।
मन्त्री भट्टराईले विराटनगर विमानस्थल आन्तरिक र बाह्य दुवै विमानको ‘हब’ बन्न सक्ने सम्भावना औंल्याए । उनले राजधानी बाहिर अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेको गौतम बुद्ध र पोखरा विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको जानकारी गराएका थिए ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्थापना भएदेखि नै विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउनुलाई प्राथमिकतामा राखेको बताए । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले यस प्रदेशमा १४ वटा विमानस्थल रहे पनि पाँच वटा मात्र सञ्चालनमा रहेको जानकारी दिँदै विराटनगर विमानस्थलको भौतिक पूर्वाधार एवं धावन मार्ग विस्तार गर्न केही समय पहिले साढे चार बिघा जमीन अधिग्रहण भइसकेको बताए ।







