असोज २० बुटवल ।
प्रदेश नं. ५ को राजधानी र नामसम्बन्धी प्रस्ताव लिएर रोष्ट्रममा पुगेका उक्त प्रदेशका मन्त्रीले सांसदलाई ‘घिसारेर निकाल्न’ आदेश दिएका छन् ।
प्रदेशसभामा तोडफोड भइरहँदा मर्यादापालकको सुरक्षाका बीच रोष्ट्रमसम्म पुगेका उक्त प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले अगाडि आफ्ना सुरक्षाका लागि खटिएका मर्यादापालकलाई कोट्याउँदै प्रश्नका लागि हात उठाएका सांसदलाई निकाल्न आदेश दिएका हुन् ।
मर्यादापालकको घेराबीच रहेका उनले ‘घिसारेर निकालिहाल्’ भनेर दिएको अभिव्यक्ति संसद बैठकको प्रत्यक्ष प्रसारणमा देखिएको थियो । सोमबारको प्रदेशसभा बैठकमा उनले सांसदहरूलाई यस्तो भनेका थिए ।
यस्तो थियो अगाडिको परिस्थिति
सोमबार दिउँसो प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रदेश सरकारको प्रस्ताव थियो । यसमाथि छलफलका लागि बोलाइएको प्रदेशसभामा कांग्रेस सांसदहरुले नाराबाजी गरे र संसद बैठक केहीबेरका लागि स्थगित भयो ।
त्यसअघि बोलेका कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले राजनीतिक सहमतिका आधारमा राजधानी तोक्नुपर्ने बताएका थिए । दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरुले नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले फरक मतको सम्मान गर्ने तर सभाको कारबाही अगाडि बढाउने बताए ।
प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्तावमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई सभामुखले समय दिए । नाराबाजी गरिरहेका विपक्षी सांसद मन्त्री घर्तीको बाटो छेक्न रोष्ट्रम छेउ गए ।
उनीहरू मन्त्री केसीलाई रोष्टममा पुग्नबाट रोक्न चाहन्थे । मन्त्री केसी अगाडि बढ्न खोज्दा प्रस्तावको कागज खासाखोस समेत भयो । तर, मर्यादापालकको साथ पाएका मन्त्री केसी रोष्ट्रमसम्म पुग्न सफल भए, प्रस्ताव पनि पेश गरे ।
त्यही बेला नाराबाजी गरिरहेका मध्ये सांसद बसिरुद्दिन खाँले पहिलो रोमा रहेको कुर्सी उचालेर टेबलमा पछारे । अष्टभुजा पाठक र बैजनाथ कलवारले पनि कुर्सी उचालेर पछारे । त्यसपछि कांग्रेस नेताहरू बस्ने कुर्सी, टेबल र माइकहरु छरपस्ट भयो ।
मौन सभामुख घर्ती
केहीबेर मौन रहेका सभामुख घर्तीले न तोडफोडबारे केही बोले, न सभाको कारबाही रोके । बरु तोडफोडका कारण भद्रगोल अवस्थामै सभाको कारबाही अगाडि बढाए ।
छलफलमा भाग लिन सांसदहरुलाई समय उपलब्ध गराए । होहल्लाकै बीचमा छलफलको औपचारिकता पूरा भयो । विपक्षीको नाराबाजी त छँदै थियो, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) कै केही सांसद उठेर आफ्ना कुरा राख्न हात उठाइरहका थिए ।
तर, सभामुखले संशोधनका लागि १८ घन्टे सूचना दिए र छलफलमा उठेका प्रश्नहरूको जवाफका लागि आन्तरिक मामिला मन्त्रीलाई समय दिए ।
कानुनमन्त्री केसी रोष्टममा आइपुग्दासम्म अवस्था यस्तो भयो कि सभामुख घर्तीको सुरक्षाका लागि मर्यादापालकहरु दायाँबाया कुसन लिएर उभिनु परेको थियो । त्यसक्रममा मन्त्री केसी यति आक्रोशित भए कि विरोध गर्ने सांसदहरुतर्फ इंगित गर्दै घिसारेर बाहिर निकाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए ।







