काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत यसपटक प्रतिस्पर्धामा उत्रिएका ५७ राजनीतिक दलमध्ये ५१ दलले न्यूनतम मत सीमा अर्थात् थ्रेसहोल्ड पार गर्न सकेनन्। निर्वाचन व्यवस्थाअनुसार समानुपातिक प्रणालीमा सिट प्राप्त गर्न कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान छ। उक्त सीमा नकटाएका कारण ती ५१ दलले समानुपातिकतर्फ प्रतिनिधित्व नपाउने भएका हुन्।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५१ लाख ८१ हजार ३३० मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३ मत पाउँदा नेकपा (एमाले) ले १४ लाख ५५ हजार ६६९ मत प्राप्त गरेको छ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख ११ हजार ३९३ मत ल्याएको छ भने श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ६४९ मत प्राप्त गर्दै थ्रेसहोल्ड पार गर्ने दलहरूको सूचीमा परेको छ। यसरी कुल ६ दलले मात्रै न्यूनतम मत सीमा पार गरेका छन्।
उता, मधेसकेन्द्रित दलहरूसहित धेरै साना दलहरूले भने थ्रेसहोल्ड पार गर्न सकेनन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ८१ हजार ८५० मत मात्रै प्राप्त गरेको छ। राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४९० मत ल्याएको छ भने सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३ मत पाएको छ।
त्यस्तै, राजेन्द्र महतो र रेशम चौधरीसमेत आबद्ध एकल चिह्न ‘चकिया (जाँतो)’ अन्तर्गत रहेको गठबन्धनले ६२ हजार ६९ मत प्राप्त गरेको आयोगको विवरणमा उल्लेख छ।
अन्य थ्रेसहोल्ड नकटाउने दलहरूमा नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७ र राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३ मत प्राप्त गरेका छन्। यसबाहेक बस चिह्नबाट चुनाव लडेका दलहरूको गठबन्धनले २९ हजार ३९६ तथा नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८ मत पाएका छन्।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८ र मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९ मत प्राप्त गरेका छन्। मोबाइल चिह्न अन्तर्गत चुनाव लडेका दलहरूले १९ हजार २०९ मत पाएका छन्। अन्य थुप्रै दलहरूले पनि आवश्यक मत सीमा पार गर्न सकेका छैनन्।







