असोज २१, बैतडी ।
जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ । हालसम्म ४४ जनाको विवरण सङ्कलन गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।
असोज २ बाट जिल्ला प्रशासन कार्यालयले विवरण संकलन सुरु गरेको हो । दशरथथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले फोटो खिचेर आफ्नो विवरण दिइ उक्त कार्यको शुभारम्भ गरेकी हुन् ।
परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति स्वयं तथा सक्कलै नागरिकता र बुवाआमाको पनि सक्कलै नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र पनि सक्कलै लिएर आउनुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैले पत्र बनाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।
‘लगत सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ’, उनले भने, ‘नागरिकता पाएकै दिन परिचयपत्रको लागि आवश्यक विवरण भर्ने व्यवस्था मिलाइएको छ ।’
राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराउन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गर्दै भने, ‘बहुउपयोगी प्रमाणपत्रका रूपमा लिइएको परिचयपत्र भएपछि अन्य सरकारी परिचयपत्र साथमा राख्नुपर्ने झन्झट हुँदैन ।’
दश अङ्कको नम्बर रहेको परिचयपत्रमा नागरिकतामा भएका विवरणका साथै त्यहाँ नभएको हजुरबुवाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औठा छाप, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगानालगायतका कुरा समेत रहनेछ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागवाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछन् ।
पहिलो चरणमा जिल्ला प्रशासनबाट विवरण सङ्कलनको काम जारी रहेको र पछि विस्तारै जिल्लाका १० वटै स्थानीय तहका ८४ वडाबाटै सङ्कलन कार्य शुरु हुने जनाइएको छ ।







