रुपन्देहीमा १६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन आयोजना हुने भएको छ। नेपाल भेटेरिनरी एशोसियसन का महासचिव डा. शंकर न्यौपाने ले सम्मेलनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाको सहभागिता रहने जानकारी दिएका छन्।
सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुनेछन् भने १० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूले पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा र जलवायु परिवर्तनका प्रभावबारे आफ्नो अवधारणापत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
कार्यक्रममा प्राविधिक सत्र, अनुसन्धान प्रस्तुति, प्यानल छलफल, अनुभव आदानप्रदानसहित विद्यार्थीहरूको क्षमता विकासलाई प्रोत्साहित गर्न स्टुडेन्ट पोस्टर प्रतियोगिता पनि आयोजना गरिनेछ। डा. न्यौपानेले नयाँ पुस्तालाई अनुसन्धानतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेका छन्।
सम्मेलनले नेपालमा भेटेरिनरी सेवाको गुणस्तर सुधार, नवीन प्रविधिको विस्तार र अनुसन्धान प्रवद्र्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। भेटेरिनरी चिकित्सक डा. हरिकृष्ण थापा का अनुसार, पशु स्वास्थ्य सुदृढ भएपछि उत्पादन वृद्धि, किसानको आम्दानी वृद्धि र खाद्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
समारोहले “एक स्वास्थ्य” अवधारणालाई व्यवहारमा उतार्दै मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्था र प्रविधि प्रदायकहरूको सहभागिताले नवीनतम प्रविधि र अभ्यास नेपालमा भित्राउन सहयोग पुग्ने विश्वास आयोजकहरूले लिएका छन्।
राष्ट्रिय भेटेरिनरी सम्मेलनले नेपालको पशु स्वास्थ्य क्षेत्रलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउने दिशामा ठूलो कदम ठहरिने विश्वास व्यक्त गरिएको छ।







