असोज २२, काठमाडौं ।
त्रिभूवन विश्वविद्यालय अन्तर्गतका तीन टोलीलाई कोरोना महामारीका विविध पक्षबारे अध्ययन गर्न तीन करोड रूपैयाँ अनुदान दिइने भएको छ । विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले त्रिविलाई उक्त रकम उपलब्ध गराउने भएको हो ।
त्यसबाट कोरोना महामारीका विविध पक्षबारे अध्ययन गरिने बताइएको छ । युसिजीले अनुसन्धान टोलीलाई एक–एक करोड रुपैयाँ अनुदान दिने भएको छ । छनोटमा परेका तीनवटै टोली त्रिविकै तीन विभागअन्तर्गतका हुन् ।
एक वर्षभित्र अनुसन्धान सक्ने गरी तीनै अनुसन्धान टोलीले ल्याएको प्रस्ताव स्वीकृत गरिएको सूचना प्रकाशन गरी आयोगले जानकारी दिएको छ ।
आयोगले गैरप्राविधिक अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका प्राध्यापक शिवराज अधिकारी, प्राविधकतर्फ रसायनशास्त्र विभागका प्राध्यापक रामचन्द्र बस्न्यात र केन्द्रीय जनस्वास्थ्य विभागका प्राध्यापक आमोदकुमार पौड्याल नेतृत्वका टोलीलाई छनोट गरेको हो । आयोगले कोरोनामा आधारित सहकार्यात्मक अनुसन्धान गर्न प्रस्ताव आह्वान गरेको थियो ।
आयोगले एक वर्षभित्रै अनुसन्धान गर्नका लागि भनेर हालसम्म त्रिविलाई उपलब्ध गराएको यो सबैभन्दा ठूलो रकम होे । यसअघि यूसीजीले तीन वर्ष अनुसन्धानका लागि बढीमा २० लाख रुपैयाँसम्म अनुदान दिने गरेको थियो । यसपटक भने आयोगले संस्थागत स्वीकृति प्राप्त टोलीलाई प्रतिस्पर्धामा सहभागी गराएको थियो ।
रसायनशास्त्रको टोलीले वनस्पतिजन्य औषधि कोरोना संक्रमण (कोभिड–१९) को उपचारमा कति प्रभावकारी छ भन्ने विषयमा अध्ययन गर्नेछ । ‘कोभिड–१९ को उपचारमा औषधिजन्य वनस्पतिको प्रभावकारिताबारे अनुसन्धान हुनेछ,’ रसायनशास्त्र टोलीका साइन्टिफिक एडभाइजर निरञ्जन पराजुलीले भने, ‘विदेशमा पनि सार्स र मार्स महामारीका बेला यस्तो अध्ययन गरिएको थियो । त्यससमयमा पनि वनस्पतिका एक सय ३६ वटा मलिक्युल भेटिएको थियो । कोभिड–१९ को उपचारमा त्यसैको प्रभावकारिताबारे अनुसन्धान हुन्छ ।’
सार्स र मार्स महामारीका बेला संसारमा विभिन्न स्थानमा वनस्पतिजन्य औषधिबारे अध्ययन गरिएका थिए । पराजुलीसहितको टोलीले औषधिजन्य वनस्पतिका विषयमा विभिन्न स्थानबाट प्रकाशित लेखको ‘लिटरेचर रिभ्यु’ गरेको थियो ।
उनले यो विषय बेलायतबाट निस्किने ‘फाइटो थेरापी’ जर्नलमा प्रकाशन हुने चरणमा रहेको जानकारी दिए । ‘सुरुमा ती मोलिक्युलहरूलाई कम्प्युटर मोडलिङबाट हुने असरबारे हेर्ने छौँ र त्यसपछि मुसामा परीक्षण गर्नेसम्मको अध्ययन र अनुसन्धान हुनेछ,’ पराजुलीले भने ।
त्यसमा मुसालाई कोरोनाबाट संक्रमित बनाएर त्यसमा औषधि दिँदा रोगसँग लड्ने प्रतिरोधी क्षमता विकास हुन्छ कि हुँदैन भनेर हेरिनेछ । कोरोनाबारे अध्ययनका लागि आयोगले गरेको आवेदन आह्वानपछि ४८ वटा अनुसन्धान प्रस्ताव परेका थिए ।
जसमध्ये ९ वटा छनोट गरेर प्रस्तुति गर्न लगाइएको थियो । त्यसबाटै कोरोनाबारे अध्ययनका लागि तीन टोली छानिएका हुन् । केन्द्रीय जनस्वास्थ्य विभागका प्रमुख प्राध्यापक आमोदकुमार पौड्यालका अनुसार कोरोना संक्रमणका कारण मातृ–शिशुको स्वास्थ्यमा परेको असर, आर्थिक सामाजिक क्षेत्रमा परेको र पार्न सक्ने प्रभाव, महामारी नियन्त्रणका लागि सरकारले गरेको खर्चका विषयमा अध्ययन गरिनेछ ।
‘सरकारले अहिले जसरी कोरोना नियन्त्रणका लागि खर्च गरिरहेको छ, हामी यसका लागि सरकारले धान्न सक्ने खर्च कति हो त्यो विषयमा पनि अध्ययन गर्नेछौं,’ पौड्यालले भने ।
‘जसमा विभिन्न क्षेत्रका विज्ञ हुनुहुन्छ । नेपाली विश्वविद्यालय र विदेशी विश्वविद्यालयमा काम गरिरहनुभएका नेपाली यो अध्ययन टोलीमा हुनुहुन्छ,’ उनले थपे ।
त्यसैगरी त्रिभुवन विश्वविद्यालको अर्थशास्त्र विभागका प्राध्यापक शिवराज अधिकारीको टोलीले कोरोना महामारीका कारण नेपालका विभिन्न क्षेत्रमा परेको र पर्न सक्ने असर, स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रका नीतिमा रहेको विरोधाभाष (ट्रेडअफ) र तालमेल (सिनर्जी) को अवस्था र नेपालका लागि कस्ता नीति अपनाउँदा आदर्श नीति हुनसक्छ भनेर अध्ययन गर्नेछ ।
‘यसमा देशका विभिन्न कलेजमा साथीलाई पनि सहभागी गराउने छौँ । अनुसन्धान कसरी हुन्छ भनेर सिकाउने र ज्ञानको हस्तान्तरण पनि गर्ने छौँ,’ अधिकारीले भने ।







