विशेष अदालतमा आजबाट साक्षीको बकपत्र बन्द

असोज २३, काठमाडौं ।
राजधानीमा बढ्दो कोरोना जोखिमका कारण विशेष अदालतले आफ्नो सेवा संकुचित गरेको छ । अदालतले शुक्रबारबाट आठ दिनका लागि साक्षीको बकपत्र स्थागित गरेको बताएको हो ।

यस अवधिमा अन्य सेवा भने दिइनेछ । ‘बकपत्र बाहेकका अन्य नियमित सेवाहरू यथावत् रुपमा सुचारु रहने’ विशेषका उपरजिष्ट्रार पुष्पराज पाण्डेयद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ । आजदेखि अर्को शुक्रबारसम्मका लागि साक्षीको बकपत्र लिन बन्द गरिएको हो ।

कात्तिक १ गत्ते दशैंको घटस्थापना र शनिबार परेकाले २ गत्तेबाट मात्र बकपत्र लिन सुरु गरिनेछ । कर्मचारीलाई कोरोनाको जोखिमबाट बचाउन यस्तो निर्णय लिइएको अदालतले जनाएको छ ।