सप्तरी सामूहिक बलात्कार प्रकरण : मिलापत्र गराउने १० सहित १४ जनाविरुद्ध मुद्दा

असोज २३, सप्तरी ।
जिल्लामा सामूहिक बलात्कारको घटनालाई मिलापत्र गराउने पञ्चायतका १० सहित १४ जनाविरुद्ध सप्तरी जिल्ला अदालतमा बलात्कार, आत्महत्या दुरूत्साहन र कर्तव्य ज्यान मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालय सप्तरीले नाबालिकालाई बलात्कार गर्ने २ जना र बलात्कारको प्रयास गर्ने अन्य २ जना र त्यसलाई गाउँमै मिलाउने १० जनाविरूद्ध जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको हो ।

जिल्ला अदालतका श्रेष्तेदार श्रीकुमार मास्केले सामूहिक बलत्कारमा संलग्न भएका र २५ हजारमा मिलापत्र गराउनेदेखि संलग्नसम्म १४ जनाविरुद्ध तीन अभियोगमा मुद्दा दायर भएको बताए ।

यस्तो थियो घटना
भदौ २९ मा डाक्नेश्वरी नगरपालिका–७ पिपरामा दुई युवाले सोही ठाउँकी एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोप लागेको छ । घटनापछि गाउँमा पञ्चायत बसेर पीडिताको परिवारलाई प्रहरी समक्ष पुग्न नदिइ बलात्कारीबाट २५–२५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेका थिए ।

आफूलाई प्रहरीसमक्ष जान नदिएपछि ती नाबलिकाले आत्महत्या गरेकी थिइन् । त्यसपछि मात्र यो घटना सार्वजनिक भएको थियो ।

यस घटनामा जिल्ला सरकारी वकील कार्यालयले मुख्य अभियुक्त दुई जनालाई तीनवटा अभियोग लगाएको छ । जबरजस्तीकरणीमा सात वर्षदेखि १० वर्षसम्म, त्यस्तो अपराध सामूहिक रूपमा गरेकाले थप पाँच वर्षसम्म कैद, आत्महत्या दुरूत्साहनमा पाँच वर्ष कैदको सजाय माग गरेको छ ।

यस्तै ५० हजार जरिवाना तथा प्रहरीलाई आफूमाथि भएको अपराधको सूचना दिन पीडितालाई रोकेकोमा दुई वर्षसम्म कैद र २० हजार रूपैयाँसम्म जरिवानाको माग अभियोगपत्रमा गरिएको श्रेष्तेदार मास्केले बताए ।

मुख्य आरोपित दुवै जना १५ वर्षमुनी भएको कारण उनीहरूलाई ठहर भएको सजायको आधा सजाय मात्र हुनेछ । त्यस्तै विष्णु मण्डल र धर्मदेव मण्डलसमेत गरी चार जनाले सामूहिक बलात्कारको प्रयास गरेकोमा विष्णु र धर्मदेवले बलात्कार नगर्दै फूलमाया उम्किएकी थिइन् ।

सरकारी वकिलले उनीहरुले बलत्कार नै नगरेपनि प्रयास गरेकाले मतियारको रुपमा मुद्दा दायर गरेको छ । उनीहरु दुई जनालाई मुख्य अभियुक्तको आधा सजाय हुनुपर्ने जिकीर अभियोगपत्रमा गरिएको छ ।

त्यसैगरी गाउँमा अगुवाको रूपमा शत्रुधन मण्डल, उचितलाल भन्ने उजितलाल मण्डल, झमेली मण्डल, रामजी भन्ने बेचन मण्डल, बंशराज मण्डल, विदेश्वर मण्डल, सत्यनारायण मण्डल, जयकान्त मण्डल, देवु मण्डल र वासुदेव मण्डलले बलात्कारको यस घटनालाई प्रहरीसमक्ष पुग्न रोकेर गाउँमै मिलाउन भूमिका खेलेकाले मतियारको रुपमा मुद्दा दायर गरेको छ ।

पीडितलाई जबरजस्ती शत्रुघन मण्डलको घरमा लगेर शारीरिक परीक्षण गर्न जान र प्रहरीमा सूचना दिन जान रोकिएको थियो । साथै बलात्कार गरेका दुई जनाबाट २५–२५ हजार रूपैयाँ क्षतिपूर्ति तिराउने निर्णय भएको थियो ।

सरकारी वकीलको कार्यालयले यी १० जनालाई आत्महत्या दुरूत्साहन र अपराधको सूचना प्रहरीलाई दिन अवरोध गरेको अभियोग लगाएको छ ।

उनीहरूलाई आत्महत्या दुरूत्साहनमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिवाना माग गरिएको छ । त्यस्तै अपराधको सूचना प्रहरीलाई दिन अवरोध गरेकोमा थप २ वर्षसम्म कैद र २० हजार रूपैयाँसम्म जरिवाना उनीहरुलाई हुनुपर्ने माग अभियोगपत्रमा गरिएको छ ।