असोज २३, पोखरा ।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना महामारी तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेका थियो ।
हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा दुई तीहाइ बराबरको काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जीनियर विनेश मुनंकर्मीले जानकारी दिए ।
आयोेजना प्रमुख मुनंकर्मीले धावनमार्ग (रनवे), ट्याक्सीवे, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भएको बताएका छन् । त्यसैगरी आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावर, ह्याङ्गर भवनलगायतका विभिन्न १४ वटा भवनको सिभिल र कङ्क्रिट स्टिल संरचना तथा छाना छाउने काम सकिएको छ ।
तर फिनिसिङ र डेकोरेशनको काम बाँकी रहेको बताइएको छ । हाल चिनियाँ कामदार तथा कर्मचारी एक सय ८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरिरहेका छन् । तोकिएको मिति सन् २०२१ जुलाई १० भित्रमा विमानस्थलको सम्पूर्ण काम सम्पन्न हुने मुनंकर्मीले बताए ।
उनले भने, ‘कोरोनाका कारण अङ्ग्रेजी नयाँ वर्षदेखि नै आयोजनाको काम प्रभावित भएकाले छ महिनाअघि नै विमानस्थलको काम सक्ने हाम्रो लक्ष्य पूरा नभए पनि अबको काम उपकरण जडानको रहेकाले सामग्री आउनेबित्तिकै काम शुरु गरेर तोकिएको समयभित्रमा काम सम्पन्न गर्न सकिन्छ भन्ने विश्वासमा छौँ ।’
आयोजना समयमै सम्पन्न गर्न प्रदेश तथा स्थानीय सरकारबाट केही काममा अझै सहयोग आवश्यक रहेको बताउँदै उनले राजनीतिक दलको समेत साथ र सहयोग आवश्यक रहेको बताए । (रासस)







