असोज २३, तनहुँ ।
यहाँको कारागारमा खाट नहुँदा कैदीबन्दी चिसो भुइँमा सुत्न बाध्य भएका छन् । कारागार भवन बाहिरबाट हेर्दा चिटिक्क परेको, कैदीबन्दीलाई बस्नका लागि आरामदायक जस्तो देखिए पनि कारागारभित्र खाट नहुँदा कैदीबन्दी भुइँमा सुत्दै आएका छन् ।
नयाँ भवन निर्माण भए पनि खाटको व्यवस्था नहुँदा कैदीबन्दी सिमेन्टको चिसो भुइँमाथि सुतिरहेका हुन् । क्षमताभन्दा धेरै कैदी हुँदा उनीहरु कोचिएर भुईँमै सुत्नुपरेको छ । खाटको लागि बजेट नहुँदा कैदीबन्दी भुइँमा सुताउनुपरेको कारागार प्रशासनले जनाएको छ ।
‘रकमको व्यवस्था नहुँदा खाट बनाउन सकिएको छैन । खाटमा कहिले सुत्न पाइन्छ भनेर प्रश्न गरिरहन्छन्,’ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले भने । कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा राखिएको पुरुष कैदीबन्दी भुइँमा सुतेका हुन् ।
सुत्नका लागि गर्मी महिनामा म्याट ओच्छाएर काम चलाइएको भए पनि अब जाडो महिना शुरु हुन लागेको चिसोले बिरामीमा परिने डर भएको चौकीदार तेजकुमार श्रेष्ठको भनाइ छ । श्रेष्ठले काठ सहयोग पाए कारागारभित्रै रहेका कैदीबन्दीले खाट निर्माण गर्ने बताउँछन् ।
कैदीबन्दीको सङ्ख्या उच्च हुँदा व्यवस्थापन गर्न कठिन भएपछि नवनिर्मित महिला बन्दीगृहमा पुरुष राखिएका छन् । महिला कैदीबन्दीलाई पोखरालगायत अन्यत्र लानुपर्ने बाध्यताको अन्त्य गर्न तनहुँ कारागार परिसरभित्र महिला बन्दीगृह निर्माण गरिएको थियो ।
पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ३२ कैदी र ६४ थुनुवा गरी एक सय ९६ कैदीबन्दी छन् । पुरानो कारागार भवनलाई ब्लक ‘ए’ र नयाँ भवनलाई ब्लक ‘बी’ गरी नामाकरण गरिएको छ ।
पुरानो भवनमा एक सय सात र अन्यलाई नयाँ भवनमा स्थानान्तरण गरिएको छ । कारागार परिसरमा निर्माण गरिएको कार्यालय भवन, सुरक्षा व्यारेक र बन्दीगृह गरी तीनवटा भवन रु छ करोड ४४ लाखको लागतमा नयाँ भवन निर्माण गरिएको हो ।
कारागार व्यवस्थापन विभागले हाललाई पुरुष राख्नु भन्ने नीतिगत निर्णय गरेकोले महिला बन्दीगृहमा पुरुष राख्न थालिएको निमित्त प्रमुख अधिकारीले बताए । गत साउन १ गतेदेखि नयाँ भवन सञ्चालनमा ल्याइएको हो । उक्त भवन निर्माणपश्चात ८० जनाभन्दा बढी कैदीबन्दी राख्न सकिने क्षमताको रहेको छ ।
जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दाका फरार व्यक्तिलाई हाल तनहुँ प्रहरीले धमाधम पक्राउ गरी कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरुलाई कारागार पठाउन थालेपछि कैदीबन्दीको संख्या उच्च भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँको प्रमुखका रूपमा असार ८ गते प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेल आएपछि धमाधमा फरार अभियुक्त पक्राउ पर्न थालेका हुन् ।
हालसम्म प्रहरीले फरार एक सय ७१ अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालतसमक्ष पेश गरिसकेको छ ।
(रासस)







