अनुदानमा मल वितरण गर्ने निर्देशिकामाथि कानुनी प्रश्न

स्रोत माग्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्राचार

असोज, २३ काठमाडौं । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले अनुदानमा मल वितरण गर्ने निर्देशिकामाथि कानुनी प्रश्न उठाएको छ ।

अनुदानमा मल वितरण गर्ने निर्देशिकाको कानुनी स्रोत के हो भन्ने प्रश्न गर्दै समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्राचार गरेको छ ।

संसदबाट पारित ऐन भन्दा बाहिर गएर कृषि मन्त्रालयले आफैँ निर्देशिका बनाएर मल वितरण गर्दै आएको संसदीय समितिको निष्कर्ष छ ।

पत्र मार्फत समितिले अनुदानमा मल वितरण गर्ने निर्देशिकाको कानुनी स्रोत र कृषि मल अनुदान सम्बन्धी छुट्टै ऐन र नियम बनाउन के बाधा परेको हो त्यसबारे सात दिन भित्र जवाफ पठाउन आग्रह गरेको छ ।

‘कृषि मल सम्बन्धी, कृषि अनुदान सम्बन्धी छुट्टै ऐन बनाई सो को आधारमा मात्र निर्देशिका बनाउन साथै हाल जारी निर्देशिकाको कानूनी स्रोत र ऐन बनाउन के वाधा परेको हो सो को जानकारी सहित सात दिनभित्र समिति समक्ष जवाफ पठाइ दिनहुन यो पत्राचार गरिएको छ,’ पत्रमा उल्लेख छ ।

समिति सभापति रामनारायण विडारीले बिहीबार कृषि मन्त्रालयलाई पत्र पठाएका हुन् ।

‘कृषि मल अनुदान संसदले बनाएको कानुनबेगर आफैँले निर्देशिका बनाई राष्ट्रिय कोषबाट वितरण गर्न मिलेन । ऐन बनाएर मात्रै राजश्व खर्च गर भनेका छौं’ विडारीले भने ।

समितिले यसअघि पनि पटक पटक कृषि मन्त्रालयले बनाएको निर्देशिकाहरुमाथि प्रश्न उठाउँदै आएको छ ।

तथापि, कृषि सम्बन्धी छुट्टै ऐन संसदबाट बनाउने कोशिस नभएको भन्दै समितिले पत्रमा लेखेको छ, ‘कृषि मल सम्बन्धी त्यस मन्त्रालयबाट विभिन्न समयमा जारी भएका निर्देशिकाहरु असान्दर्भिक ऐन उल्लेख हुने गरेको, कृषि सम्बन्धी मलको परिभाषा गर्ने क्रममा मलको प्रकारमा समेत थपघट हुने गरेको, गड्यौले मल (भर्मिङ कम्पोष्ट) को चिस्यान प्रतिशत विभिन्न समयमा फरक फरक निर्धारण हुने गरेको पाइयो ।’

कृषि मलको परिभाषा गर्दा निर्देशिकामा कुनै कृषि मलको प्रकार हटाउने, कुनै कृषि मलको प्रकार थप्ने गरेको समेत देखिएको भन्दै समितिले मन्त्रालयलाई प्रश्न गरेको छ ।

संसद्बाट पारित ऐनको अभावमा असान्दर्भिक ऐन उल्लेख गर्दै बनाउने प्रत्यायोजित विधायनबाट अराजकता श्रृजना भइ कानूनी शासनको अवधारणा प्रतिकूल हुन जाने भएकाले सचेत गराइएको सभापति बिडारीले बताए ।

कृषि मन्त्रालयबाट जवाफ आएपछि थप कदमहरु चाल्ने सभापति बिडारीले जानकारी दिए ।

‘रसाइनिक मल कम्पोष्ट मल कुन कुनमा अनुदान दिने भनेर वर्गीकरण गर्ने, वर्गीकरणमा कुनै मलको नाम थपिदिने । अहिले सम्रिश्रण मल आएको छ । पहिले गड्यौले मल भन्ने थियो अहिले हटाइदियो । गड्यौले मलको चिस्यान बारम्बर परिवर्तन भइरहन्छ । त्यसकारण कानुन बनाएर मात्रै यससम्बन्धी काम गर्नुपर्छ भनेका हौं’ बिडारीले भने ।

मन्त्रालयलाई पठाइएको पत्रमा निर्देशिकाको कानुनी स्रोत र ऐन बनाउन परिरहेको बाधा अड्चनबारे समितिलाई जानकारी गराउन पनि भनिएको छ ।