म्याग्दी । बेनी नगरपालिका–२ खबरामा प्रस्तावित ‘लभ्लिहिल’ पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा आउन सकेको छैन ।
बेनी नगरपालिकाले पछिल्लो तीन आर्थिक वर्षमा गौरवको योजनाको रूपमा बजेट विनियोजन गरेको लभ्लिहिल पर्यटन पूर्वाधार योजना कार्यान्वयन हुन नसकेको हो । बजेट विनियोजन भए पनि योजना कार्यान्वयनमा अलमल र ढिलाइ हुँदा निराश बनेको खबराका बासिन्दा ध्रुवराज कार्कीले बताए ।
“परिकल्पना गरिएको शाहासिक पिङको नक्सांकन र डिजाइन तयार पार्ने प्राविधिक जनशक्तिको अभाव, सामुदायिक वनको कार्ययोजनामा पर्यटन प्रवर्द्धनको कार्यक्रम समावेश गराउन भएको प्रक्रियागत ढिलाइ र निर्माण तथा सञ्चालनको मोडालिटी स्पष्ट नहुँदा ढिलाइ भएको हो,” उनले भने “डेढ देखि दुई महिनाको काम गर्न तीन वर्षसम्म अल्झीदा बजेट विनियोजन र योजना छनौट हुँदा खुसी भएका खबराबासी निराश हुन थालेका छौ ।”
लभ्लिहिल पर्यटन पूर्वाधार शीर्षकमा आर्थिक वर्ष २०८०/८१ मा रु. १५ लाख विनियोजन गरेको बेनी नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु। २५ लाख खर्च गर्न सकेन भने यस वर्ष विनियोजन भएको रु. २५ लाख पनि कार्यान्वयनमा ढिलाइ भएको छ ।
पहिलो वर्षको बजेटबाट रु। छ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार र प्राविधिक अध्ययन गरिएको थियो । नगरपालिका, म्याग्दी उद्योग वाणिज्य संघ र खबराको सामुदायिक बन उपभोक्ताको साझेदारीमा ‘साहासिक पिङ’ बनाउने परिकल्पना सहित बजेट विनियोजन भएको हो ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठका अनुसार गत वर्ष संघले परामर्शदाता परिचालन गरेर साहासिक पिङ बनाउने योजनाको नक्सांकन र लागत अनुमान तयार पारेपनि समय छोटो भएका र वन सम्बन्धी प्रक्रिया पुरा गर्न भएको ढिलाइले निर्माण गर्न नसकिएको बताए ।
“यस वर्ष योजना कार्यान्वयनको तयारी गरेको अवस्थामा म पारिवारिक कामले भारत जान परेपछि कार्यवाहक अध्यक्ष र पूर्व अध्यक्षहरूको नेतृत्वमा काम अघि बढाउन छलफल गरिरहेको छु,” उनले भने “केही दिनमै निर्माण र सञ्चालनको मोडालिटीमा स्पष्ट भएर काम अघि बढाउने तयारीमा छौ ।”
म्याग्दी हुँदै सडक मार्ग भएर मुस्ताङ जाने आउने पर्यटकलाई बेनीमा भुलाउनका लागि लभ्लीहिललाई गन्तव्य बनाउन यसअघि प्रवासी म्याग्देली, उद्योग वाणिज्य संघ र नगरपालिकाको साझेदारीमा बेनी देखि लभ्लीहिल जोड्ने पदमार्ग निर्माण भएको थियो । प्रदेश सरकारको सहयोगमा डाडाको डिलमा तारजाली, पदमार्ग र पार्क निर्माण भएको छ ।
बेनी–२ का वडा अध्यक्ष यामबहादुर कार्कीले लभ्लिहिल पर्यटन पूर्वाधार योजना कार्यान्वयनमा भएको ढिलाइका विषयमा नगरपालिकालाई दबाब र सहजीकरण तथा समन्वय गरिरहेको बताए । पहल गरेपनि अपेक्षित उपलब्धि हासिल नहुँदा यस वर्षपनि योजना कार्यान्वयन नहुने हो कि भन्ने चिन्ता बढेको बताए ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले यस वर्ष सामुदायिक वन समूहले कार्ययोजनामा समावेश गरेको, प्राविधिक टोलीले सबै तयार गरिसकेकाले उद्योग वाणिज्य संघ र खबराबासीसँग समन्वय गरेर जति सक्दो छिटो योजना कार्यान्वयनमा लैजान पहल गरिरहेको बताए ।
बेनी बजारदेखि लभ्लिहिल जोड्ने सडक स्तरोन्नति योजनालाई निरन्तरता दिएको उनले बताए। प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा विनियोजन भएको रु। पाँच लाख बजेटको योजना भने उपभोक्ता समितिबाट कार्यान्वयन थालिएको छ ।
बेनी बजारदेखि २० मिनेट उकालो पैदलयात्रा गरेपछि पुगिने लभ्लीहिलबाट धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत आठ हिमाल, बेनीबजार, नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकी नदी, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ ।
लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीय नारायण कार्कीले बताए । पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूह बनाएर दैनिकरुपमा युवापुस्ता पुग्न थालेपछि पूर्वाधारको आवश्यकता महसुस गरिएको हो । पछिल्लो समय तस्बिर खिचाउन र टिकटक बनाउन पनि यहाँ दैनिकजसो युवायुवतीको भीड लाग्ने गरेको छ ।






