म्याग्दी । धवलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धवलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धवलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ ।
इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच नेपालीले शनिबार चालु वसन्तयामको पहिलो सफल आरोहण गरेका हुन् ।
चीनका लिउ होङ, लिउ यिशी, वाङ, झोङ, स्विट्जरल्याण्डका क्रिस्टिन भोगोन्डी, नेपालका फुर ग्याल्जेन शेर्पा, पासाङ नाम्गेल शेर्पा, किली पेम्बा शेर्पा, ङिमा नुुरु शेर्पा र पेम्बा छिरी शेर्पाको टोलीले धवलागिरिको सफल आरोहण गरेका इमेजिन नेपालले जनाएको छ ।
शनिबार दिउँसो ११:४० बजे धवलागिरिको चुचुरोमा पुुगेको आरोहण टोली सकुशल रुपमा तेस्रो आधार शिविरमा फर्किएको आरोहण टोलीको नेतृत्व गरेका फुर ग्याल्जेन शेर्पाले बताए । शेर्पाहरूको टोलीले हिउँमा डोरी तानेर बाटो तयार पारेपछि उनीहरुको सहयोगमा आरोही चुचुरोमा पुगेका हुन् ।
पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहणका लागि तीन समूहका १२ महिला र १६ पुुरुषले अनुमति लिएका छन् । अनुमति लिएकाबाट एक करोड २५ लाख ६० हजार ८५० सलामी दस्तुर (शुल्क) प्राप्त भएको पर्यटन विभागका शाखा अधिकृत शर्मिला बञ्जाडेले बताइन् । गत शरद्याममा धवलागिरि हिमाल आरोहणका लागि ३६ जनाले अनुमति लिएका थिए ।
छिनछिनमा परिवर्तन हुने मौसम धवलागिरि आरोहणको चुनौती हो । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए ।







