असोज २४, बाँके ।
बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ ।
मृतकमा दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुष छन् । उनीहरूको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको हो । उनी निमोनियाबाट ग्रसित थिए ।
अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा किशोरको मृत्यु भएको हो ।
यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते उनलाई शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।
तर परीक्षणका कोभिड १९ पोजिटिभ आएपछि उपचाररत उनलाई स्वास्थ्यमा थप समस्या भएको थियो । त्यसपछि शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो । तर, अस्पताल पुगेको एक घण्टामै उपचारका क्रममा मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।
योसहित बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।







