असोज २४, बाग्लुङ ।
भदौ १७ गतेको बाढीपहिराले प्रभावित बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका पीडितलाई बागलुङ सेवा समाज अमेरिकाले २५ लाख रुपैयाँ उपलव्ध गराएको छ ।
पहिरो पीडितलाई राहत स्वरुप नगरपालिका मार्फत समाजले नगद उपलव्ध गराएको हो । विभिन्न कामको सिलसिलामा अमेरीकामा रहेका बागलुङ घर भएका युवाले राहत रकम सङ्कलन गरेका थिए ।
बाढी प्रभावितको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरिएको आर्थिक सङ्कलन अभियानबाट सङ्कलित उक्त रकम हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष सन्तोष खत्रीले जानकारी दिएका छन् ।
समाजका सल्लाहकार सिंहबहादुर राणाले राहत नगरप्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरेका थिए । प्राप्त राहत नगरपालिकाले एकद्धार प्रणालीमार्फत पुनःस्थापनामा सदुपयोग गर्ने छ ।
बोबाङ खोलामा आएको भीषण बाढीपहिराले मानवीय तथा भौतिक क्षति पुर्याएपछि आफूहरुले राहत सङ्कलन अभियान थालेको समाजका अध्यक्ष हरि पौडेलको भनाइ छ ।
उक्त बाढीपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए भने १५ जना अझै बेपत्ता छन् । ढोरपाटन नगरपालिकाको वडा नं. ७, ८ र ९ का १ सय २७ परिवार घरबार विहिन बनेका छन् ।







