धनगढीमाई नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द

असोज २४, सिरहा ।
जिल्लाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि ६ दिनका लागि नगरपालिकाको अत्यावश्यकबाहेक सम्पुर्ण सेवा बन्द गरिएको छ ।

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बाँकी कर्मचारीको पनि पिसिआर रिपोर्ट आउन बाँकी रहेकाले असोज २५ देखि ३० गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको जनाइएको छ ।

नगरपालिकाकी अधिकृत सावित्रीकुमारी साहुले सूचना प्रकाशित गरी पिसिआर परीक्षण गराएका बाँकी कर्मचारीको रिपोर्ट नआएसम्म सङ्क्रमण फैलिने जोखिम रहेकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको जनाएकी छिन् । कोरोना सङ्क्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका व्यक्तिमा पनि सङ्क्रमण हुनसक्ने सम्भावना रहेकाले तत्काल पिसिआर परीक्षण गराउनसमेत सूचनामा आग्रह गरिएको छ । (रासस)