असोज, २४ काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा हालसम्मकै उच्च कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेका २४ घण्टामा ५ हजार ८ जनामा कोरोना संक्रमण भेटिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।
देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १९ हजार ३२० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनासहित काठमाडौं उपत्यकामा मात्रै २ हजार ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा बितेको २४ घण्टामा थप १ हजार २२९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७४ हजार २५४ पुगेको छ । यो कुल संक्रमितको ७०.२ प्रतिशत हो ।
यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या ३० हजार ८१८ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा १७ हजार १६४ जना र संस्थागत आईसोलेसनमा १३ हजार ६५४ जना छन् । तिमध्ये ३२१ जना संक्रमितको आईसियु र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।







