‘लाली बजार’ प्रदर्शन रोकिएपछि चलचित्रकर्मीको विरोध, कालो पट्टीसहित माइतीघरमा प्रदर्शन

काठमाडौँ । आगामी १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लाली बजार’ माथि उच्च अदालत पाटनले अन्तरिम प्रकृतिको अल्पकालीन आदेश जारी गर्दै प्रदर्शन रोक लगाएपछि चलचित्रकर्मीहरू विरोधमा उत्रिएका छन्।

वादी समुदायका केही अभियन्ताले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले अस्थायी रोक लगाएको पृष्ठभूमिमा चलचित्रसँग सम्बन्धित कलाकार, निर्माता तथा अन्य सर्जकहरू माइतीघर मण्डलामा भेला भएका हुन्।

विरोध कार्यक्रममा सहभागीहरूले कालो पट्टी बाँधेर तथा प्लेकार्ड प्रदर्शन गर्दै मौन धर्नामार्फत असहमति जनाएका छन्। प्रारम्भिक चरणमा उनीहरूले करिब १५ मिनेट मौन प्रदर्शन गरेका थिए।

प्रदर्शनमा सहभागीहरूले अभिव्यक्ति स्वतन्त्रता तथा सिर्जनात्मक स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भएको आरोप लगाएका छन्। उनीहरूले चलचित्रको प्रदर्शन रोक्ने निर्णयले कला क्षेत्रलाई निरुत्साहित गर्ने धारणा व्यक्त गरेका छन्।

विरोध कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का, निर्देशक प्रदीप भट्टराई, निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँ, निर्माता म्याक्स दीपेश खत्रीलगायत चलचित्र क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।