काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बुधबार राति देशका केही क्षेत्रमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना औँल्याउँदै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा रातिको समयमा असिनासहित वर्षा हुन सक्ने सम्भावना रहेको छ। केही स्थानमा तीव्र वर्षासँगै हावाहुरीको अवस्था पनि देखिन सक्ने जनाइएको छ।
हाल देशको मौसम प्रणालीमा पश्चिमी वायु र स्थानीय वायु सक्रिय रहेको तथा नेपालको पूर्वी क्षेत्र आसपास तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको विभागले जनाएको छ।
बिहीबार देशभर सामान्यदेखि आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी र मधेस प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा तराईका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च भू-भागमा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
शुक्रबार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना छ।
विशेष गरी तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले दैनिक जनजीवन, यातायात तथा कृषि कार्यमा असर पर्न सक्ने भन्दै मौसम महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।







