एउटा कम्पनीको सेनिटाइजर र अर्कोको औषधि बिक्रिमा रोक

असोज २५, काठमाडौं ।
औषधी व्यवस्था विभागले एक कम्पनीको सेनिटाइजरमाथि प्रतिबन्ध लगाउँदै स्पष्टिकरण सोधेको छ । साथै एक औषधिमाथि पनि प्रतिबन्ध लगाइएको जनाएको छ । काठमाडौं र भक्तपुरका दुई कम्पनीका उत्पादनहरूको बिक्री वितरणमा विभागले रोक लगाएको हो ।

दुवै कारखानालाई स्पष्टीकरण सोध्दै उत्पादन र बिक्री वितरण बन्द गर्न सार्वजनिक सूचना समेत जारी गरिएको छ । बजारमा विक्रि वितरण भइरहेको काठमाडौंको सुसन्क्या इन्डस्ट्रीज प्रालिद्धारा उत्पादित एरोसफ्ट इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ ।

उक्त सेनिटाइजरका नमुना राष्ट्रिय औषधी प्रयोगशालामा परिक्षण गर्दा तोकेको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर (अल्कोहल बेस) सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन (मिथानोल) समावेश भएको तथा मापदण्ड विपरीतका समिश्रण पाइएको विभागले जनाएको छ ।

उत्पादन मिति अगस्ट २०२० र प्रयोग गर्न सकिने मिति अगस्ट २०२२ रहेको ५ लिटरमा बजारमा पाइने एरोसफ्ट इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजरमा रोक लगाइएको हो । यसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने हुँदा सर्वसाधारणलाई प्रयोग नगर्न र नगराउन विभागले सूचनामार्फत आग्रह गरेको छ ।

साथै विभागले भक्तपुरको सिटीएल फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित एलेक्सोफेन–१२० (फेक्सोफेनाडिन हाइड्रोक्लोराइड ट्याम्बलेट्स युएसपी) औषधी सिफारिस, बिक्री वितरण तथा प्रयोगमा पनि रोक लगाएको छ । ब्याच नम्बर एएलइ ३३ रहेको उत्पादन मिति डिसेम्बर २०१९ र उपभोग्य मिति नोभेम्बर २०२१ सम्म रहेको ब्याच नम्बर एएलइ ३३ को उक्त औषधीमा रोक लगाइएको हो ।

विभागबाट बजार अनुगमनका क्रममा संकलन गरिएका औषधीहरुको नमुना परीक्षण गर्दा न्युन गुणस्तरको पाइएको सूचनामा उल्लेख छ । औषधी ऐन, २०३५ को दफा ३४ बमोजिम बिक्री वितरणमा रोक लगाइ बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न निर्देशन दिइएको छ ।