‘विरोधाभाषपूर्ण आप्रवासन नीतिमा पुनविर्चार गर्नुपर्छ’

असोज २५, काठमाडौं ।
विज्ञहरूले नेपालको आप्रवासन नीति विरोधाभाषपूर्ण रहेको भन्दै यसमाथि पुनर्विचार गर्न सरकारलाई सुझाव दिएका छन् ।

नेपालले आप्रवासनलाई सुरक्षित, व्यवस्थित र नियमित बनाउन तत्काल उपयुक्त कदम चाल्नुपर्ने उनीहरुको सुझाव छ । नेपाल पोलिसी इन्स्टिच्युटलगायतका चार संस्थाहरूद्वारा आयोजित भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै अनुसन्धानकर्ता तथा प्राज्ञहरुले कोभिड–१९ का कारण उत्पन्न परिस्थितिलाई अवसरको रुपमा उपयोग गर्दै नेपालको आप्रवासनका लागि एक मार्गचित्र तयार गर्न आह्वान गरेका छन् ।

‘आप्रवासनबारे पुनर्विचार ः आजको आवश्यकता’ विषयमा धारणा राख्दै बेलायतको युनिभर्सिटी अफ एडिनबरासँग आवद्ध अनुसन्धानकर्ता डा. जीवनराज शर्माले नेपालको आप्रवासन नीति विरोधाभाषपूर्ण रहेको बताए । ‘हामी एकातिर देशभित्रै रोजगारी सिर्जना गर्ने भन्छौँ, अर्कोतिर भटाभट कयौं देशहरुसँग श्रम सम्झौता गरिरहेका छौँ । हामी सस्तो श्रम आपूर्ति गरेर रमाइरहेका छौं,’ डा. शर्माले भने, ‘हामीले के बिर्सनु हुँदैन भने जब ती श्रमिक वृद्ध, बिरामी वा मृत्यु भएर नेपाल फर्कन्छन्, त्यसको मूल्य राज्यले, समुदायले र परिवारले व्यहोरिरहेको हुन्छ ।’

पूर्वराजदूत तथा सेन्टर फर डिप्लोमेसी एण्ड डिभेलपमेन्टका अध्यक्ष मोहन कृष्ण श्रेष्ठले आप्रवासी श्रमिकहरुको हित रक्षा गर्न सरकारले श्रमिक भर्ती गर्ने संस्थाहरुलाई जवाफदेही बनाउनु पर्ने बताए । सरकारी नीति तथा नियमहरुको कडा पालना गरेर मात्रै आप्रवासी श्रमिकहरुको रक्षा गर्न सकिनेमा उनले जोड दिए ।

यसैगरी वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले विदेशबाट फर्केका नेपालीहरुसँग रहेको सीप र अनुभवलाई उपयोग गर्दै कृषि तथा विकासका अन्य आयोजनाहरुमा संलग्न गराउने नेपाल सरकारको नीति रहेको जानकारी गराएका थिए ।

उनले आप्रवासन सम्बन्धी योजना तथा नीति बनाउने काममा सघाउन प्रवासमा रहेका संस्थाहरुलाई आग्रहसमेत गरेका छन् । नेपाल पोलिसी इन्सटिच्युटका अध्यक्ष खगेन्द्र ढकालले आप्रवासनलाई देश विकासको सकारात्मक औजारको रुपमा हेर्न आग्रह गरे । कार्यक्रममा बोल्दै उनले आप्रवासन नेपालीहरुको जीविकाका लागि बाध्यता नभएर एउटा छनोटको विषय हुनुपर्ने धारणा राखेका थिए ।

श्रमिकहरुलाई ‘आप्रवासी चक्र’ को प्रत्येक चरणमा शोषण गर्ने गरिएको बताउँदै उनले त्यस्तो शोषणको मुख्य कारण वैदेशिक रोजगार प्रक्रियाबारे जानकारी नहुनु नै भएको बताएका छन् । आफूहरुले गरेको एक अध्ययनबाट नेपाल फर्किरहेका झन्डै ७० प्रतिशत नेपाली कामदारहरुलाई सरकारले उनीहरुका लागि के कस्तो योजना बनाएको छ भन्ने विषयमा अनभिज्ञ रहेको उनको भनाइ थियो ।

नेपाली आप्रवासनबारे अध्ययन गरेकी समाजशास्त्री डा. मिना पौडेलले कोभिड–१९ का कारण विदेशमा काम गरिरहेका सबै नेपालीहरु फर्कन्छन् र उनीहरु नेपालका लागि बोझ हुन्छन् भनेर सोच्नु गलत हुने बताइन् । आप्रवासीहरुले पाएको दुःखको कुरा गर्दा आप्रवासन सुशासनको पक्ष बिर्सन नहुने बताउँदै पौडेलले आर्थिक, सामाजिक तथा राजनीतिक जोखिमहरुले गर्दा आप्रवासी कामदारहरु मानव बेचबिखनको शिकार हुन सक्ने खतराबारे सजग रहन पनि सुझाव दिइन् ।

एनपीआइकी सदस्य तथा आप्रवासन सम्बन्धी जानकार सरु जोशी, मलेसियामा नेपाली आप्रवासी कामदारहरुको हितको लागि काम गर्दै आएकी सपना बस्याल, कतारस्थित लेखक मोहम्मद रमजान अलि मियाँ लगायतले पनि धारणा राखेका थिए ।