असोज २६, बाग्लुङ ।
वलेवा सेवा समाज जापानले जैमिनीका पहिरो पीडितलाई राहत रकम हस्तान्तरण गरेको छ । सांसद डा सुर्य पाठकले समाजको तर्फबाट सङ्कलन गरिएको रु. ३ लाख ३७ हजार नगद पहिरो प्रभावित क्षेत्रमा पुगेर आइतबार हस्तान्तरण गरेका थिए ।
उक्त रकम जैमिनी नगरपालिका–१ टुनीबोट र सोही नगरपालिका–५ बिनामारेका पहिरोमा परी मृत्यु भएका परिवार र पहिरोवाट घरमा क्षति भई विस्थापित भएको परिवारलाई नगद राहत हस्तान्तरण गरिएको हो ।
गत भदौं २८ र २९ गते अविरल वर्षाका कारण गएको पहिरोले घर पुरिँदा टुनिबोटमा दुई जनाको मृत्यु र ६ परिवार विस्थापित भएका थिए भने बिनामारेमा एक जनाको मृत्यु भएको थियो ।
पहिरोमा परी टुनीबोटमा मृत्यु भएका लक्ष्मीदेवि शर्मा र हरीकृष्ण शर्माको परिवार र विनामारेमा मृत्युभएको जालपादेवि शर्माको परिवार गरी जम्मा तीन जना पहिरो पीडितका परिवारलाई रु.३५ हजारका दरले, विस्थापित ६ परिवारलाई रु. ३२ हजारका दरले र पहिरोमा परी अभिभावक गुमाएका नावालक ५ जनालाई दरले रु. ८ हजारका दरले गरी जम्मा रु. तीन लाख ३७ हजार वितरण गरेको स्थानीय विद्यालय जैमिनी प्राथमिक विद्यालयका प्रधानध्यापक ऋषिराम पौडेलले जानकारी दिए ।







