काठमाडौं – सरकारले एकातिर स्वदेशी दुग्धजन्य उत्पादनको प्रयोग बढाउन अभियान चलाइरहेको छ भने अर्कोतिर मन्त्रालयको नामबाटै “पशुपन्छी” शब्द हटाइएको विषयले बहस सिर्जना गरेको छ। यही सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शैलीको स्पष्ट र व्यवहारिक नेतृत्वको चर्चा समेत हुन थालेको छ।
कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले शनिबार आफ्नै कार्यकक्षमा डीडीसीका दुग्धजन्य उत्पादन प्रयोग गर्दै स्वदेशी वस्तुको उपभोग बढाउन आग्रह गरिन्। उनले नेपाली दूध तथा दुग्धजन्य पदार्थको प्रयोगले राष्ट्रिय अर्थतन्त्र बलियो हुने बताइन्।
मन्त्री चौधरीले विदेशी उत्पादनभन्दा स्वदेशी वस्तु रोज्न उपभोक्तालाई आग्रह गर्दै किसान, उद्योग र उपभोक्ताबीचको सम्बन्ध मजबुत बनाउन यस्ता अभियान आवश्यक रहेको उल्लेख गरिन्।

दुग्ध विकास संस्थान (डीडीसी)ले दूध, दही, घ्यू, बटर, पनिर र आइसक्रिम लगायतका उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ। यसबाट देशभरका हजारौँ दुग्ध किसान लाभान्वित भइरहेका छन्।
तर, सरकारकै नेतृत्व तहबाट दुग्ध तथा पशुजन्य उत्पादनको प्रवर्द्धन भइरहेका बेला साविकको “कृषि तथा पशुपन्छी विकास मन्त्रालय” लाई “कृषि, वन तथा पर्यावरण मन्त्रालय” बनाइएको विषयले प्रश्न उठाएको छ। सरोकारवालाहरूले पशुपालन क्षेत्रको पहिचान नै कमजोर बनाइएको टिप्पणी गरेका छन्।
ग्रामीण अर्थतन्त्रको मुख्य आधारमध्ये एक मानिने पशुपालन क्षेत्रलाई नीति र संरचनामा स्पष्ट प्राथमिकता दिनुपर्ने आवाज बढिरहेका बेला सामाजिक सञ्जालमा “काममुखी नेतृत्व” को उदाहरणका रूपमा बालेनको नामसमेत जोडेर चर्चा हुन थालेको छ।






