निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। नेपाल सरकारबाट निर्वाचनका लागि कुल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ बजेट प्राप्त भएकोम ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ मात्र निर्वाचन कार्यमा खर्च भएको आयोगले जनाएको छ।
उक्त निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको थियो। जसअनुसार कुल मतदाता संख्यालाई आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिमतदाता औसत २६३ रुपैयाँ खर्च हुन आएको आयोगको तथ्याङ्कले देखाएको छ ।
आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन कार्यविधि, २०८२ को दफा ३६ तथा शासकीय सुधार सम्बन्धी कार्ययोजना, २०८२ बमोजिम बजेट निकासा, खर्च, राजस्व र धरौटी सहितको विवरण एकीकृत हिसाबमा खुलाएको हो।






