विभिन्न ब्राण्डका नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

ललितपुर । महालक्ष्मी नगरपालिका–७ स्थित चाँगाथलीमा नक्कली ब्राण्डेड मदिरा बनाउने ठाउँमा सशस्त्र प्रहरीले छापा मारेको छ ।

त्यहाँबाट ठूलो मात्रामा रेडलेवल, ब्ल्याक लेवललगायत महंगा ब्राण्डेड रक्सीसमेत बरामद भएको सशस्त्र सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाए ।

सशस्त्रको इन्टेलिजेन्स व्यूरोको सूचनाका आधारमा विर्खबहादुर तामाङको घरमा अवैध रुपले नक्कली ब्राण्डेड मदिरा तयार गरिरहेका चार जनालाई समेत नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिईएकामा रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–२ बस्ने ३० वर्षीय मनोज खत्री, सोही जिल्लाको खिम्ति गाउँपालिका बस्ने २८ वर्षीय विनोद तामाङ, २६ वर्षीय विवेक तामाङ र सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–६ बस्ने २२ वर्षीय छिदेन निमा तामाङ छन् ।

सशस्त्रले रक्सी बनाउन प्रयोग हुने केमिकल तथा उपकरण, राजश्वको स्टिकर र होलोग्राम समेत बरामद गरेको छ । बरामद रक्सी ठूलो परिमाणमा रहेकोले यकिन गर्न नसकिएको सशस्त्रले जनाएको छ ।