गोरखाकी पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा

गोरखा– गोरखाकी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठले आफ्नै कीर्तिमानलाई थप उचाइमा पुर्‍याउँदै छैटौँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् ।

‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सफलतापूर्वक सगरमाथाको शिखरमा पुगेकी हुन् । यससँगै श्रेष्ठ नेपाली महिला आरोहीमध्ये धेरै पटक सगरमाथा आरोहण गर्नेमध्ये एक बनिन्।

श्रेष्ठले यसअघि पनि एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी थिइन् । उनले सन् २०२४ को मे महिनामा १३ दिनभित्र तीन पटक सगरमाथा आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गराएकी थिइन् ।

उनले सन् २०२४ मे १२, मे १९ र मे २५ मा लगातार तीन पटक सगरमाथाको शिखरमा पाइला टेकेकी थिइन् ।

फोटो पत्रकारसमेत रहेकी श्रेष्ठ गोरखा जिल्लाको आरुघाट गाउँपालिका–आरुटार निवासी हुन्। उनको पछिल्लो सफलता नेपाली पर्वतारोहण क्षेत्रका लागि अर्को प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।