मधेश प्रदेशमा नयाँ सत्ता समीकरण, एमाले सहभागी भएपछि मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौँ- मधेश प्रदेशमा सत्ता साझेदारीमा परिवर्तन भएसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। नेकपा एमाले सरकारमा सहभागी भएपछि यसअघिका साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका छन्।

नयाँ राजनीतिक समीकरण अनुसार नेपाली काँग्रेस नेतृत्वको सरकारलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थन प्राप्त भएको छ। सोही आधारमा मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ कार्यविभाजनसहित मन्त्रिपरिषद् गठन गरिएको हो।

प्रदेश सरकारद्वारा सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार विकास, खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन्।

मन्त्रिपरिषद्मा नेपाली काँग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा माओवादी केन्द्रका जवाहरलाल कुशवाहाले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय सम्हाल्ने भएका छन्।

त्यसैगरी माओवादी केन्द्रकै कनिष पटेल उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त भएका छन्। काँग्रेसका शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने श्यामप्रसाद पटेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नेतृत्व गर्ने भएका छन्।

माओवादी केन्द्रका फकिरा महतो गृह, सञ्चार तथा कानून मन्त्री बनेका छन्। नेकपा एमालेबाट सरकारमा सहभागी भएका मोहम्मद समीरलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रदेश सरकारमा नयाँ गठबन्धन बनेसँगै पूर्वसहभागी जसपा नेपाल र जनमत पार्टी सरकारबाट बाहिरिएका हुन्। पुनर्गठित सरकारले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेको छ।