इयूसहित ३० भन्दा बढी कूटनीतिज्ञसँग आज संयुक्त  भेट गर्दै प्रधानमन्त्री बालेन 

प्रधानमन्त्री बालेन्द्र शाहले आज युरोपेली संघ (इयू) अन्तर्गतका २२ देशसहित दक्षिण–पूर्वी एसियाली मुलुकका गरी ३० भन्दा बढी कूटनीतिज्ञसँग संयुक्त शिष्टाचार भेटवार्ता गर्ने भएका छन् । उनी १३ चैतमा प्रधानमन्त्री भएपछि २५ चैतमा नेपालमा रहेका १७ देशका राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेपछिको यो दोस्रो भेट हो । प्रधानमन्त्री शाहले यसअघि नेपाल आएका अमेरिकी कूटनीतिज्ञ तथा बेलायती मन्त्रीसँग भेटेका थिएनन् ।

काठमाडौंमा रहेका तथा नयाँदिल्लीबाट आएका युरोपेली संघका २२ तथा थप कूटनीतिज्ञलाई मंगलबार ११ बजे परराष्ट्र मन्त्रालयले सिंहदरबारमा बोलाएको छ । परराष्ट्र स्रोतका अनुसार यसअघिझैँ प्रधानमन्त्री शाहले परराष्ट्रका कर्मचारीद्वारा तयार पारिदिएको छोटो लिखित भाषण पढ्नेछन् भने इयूसम्बद्ध तथा अन्य राजदूतहरूले आफ्ना धारणा राख्ने गरी बैठक तय गरिएको छ ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउनेछन् । द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुने दाहालले बताइन् ।

कूटनीतिक अधिकारीहरूका अनुसार भेटमा नेपालका दुई प्रमुख कूटनीतिक चासो सम्बद्ध राजदूतहरूलाई ध्यानाकर्षण गराइनेछ । जसमा नेपाललाई अतिकम विकसित देशको समूहमा यथावत् राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’बाट नेपाललाई हटाउन पहल गर्ने विषय छन् ।

दिल्लीबाट सोमबार काठमाडौं आएका र काठमाडौंमा रहेकासमेत २२ युरोपेली कूटनीतिज्ञले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षामन्त्री सस्मित पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क पौडेलसँग भेटवार्ता गरेका थिए । राजदूतहरूले निजी क्षेत्रका नेता, नागरिक समाजका प्रतिनिधि र युवा नेतालाई पनि भेटेका छन् ।

युरोपेली संघको नेपालस्थित कार्यालयद्वारा जारी विज्ञप्तिमा २२ कूटनीतिज्ञको सामूहिक भेटवार्ताले नेपालको नयाँ सरकारसँग भेटेर युरोपेली संघ र नेपालबिचको बलियो सम्बन्धलाई पुनः पुष्टि गरेको उल्लेख छ । प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रिस, इटाली, लिथुआनिया, लक्जमबर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा नियोग उपप्रमुख सहभागी छन् ।

परराष्ट्रमन्त्री खनालले नेपालसँगको युरोपेली संघसँगको सम्बन्धलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै नेपालसँग निरन्तर विकास साझेदारीका लागि सराहना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले व्यापार, जलवायु कार्य, शिक्षा र जनता–जनताबिचको सम्बन्धजस्ता क्षेत्रहरूमा नेपाल र इयूबिच सहयोग थप सुदृढ गर्नुपर्ने बताए । परराष्ट्रमन्त्री खनालले सरकारका प्रमुख प्राथमिकताका रूपमा तीव्र आर्थिक वृद्धिका, कुशल सेवा प्रवाह र भ्रष्टाचारविरुद्ध स्पष्ट दृष्टिकोण अघि सारिएको बताए ।

उनले नेपालमा लगानी सहज बनाउने, निर्यात प्रतिस्पर्धात्मकता बढाउने र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले भइरहेका आर्थिक सुधारहरूका प्रयासबारे जानकारी दिएका थिए । परराष्ट्रमन्त्री खनालले नेपालमा जलविद्युत्, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधिजस्ता क्षेत्रमा लगानीका लागि आह्वान गरे ।

यसैगरी, परराष्ट्रमन्त्री खनालले नेपालको हवाई क्षेत्रमा भएका उल्लेख्य सुधारलाई ध्यानमा राख्दै युरोपेली संघका सदस्य राष्ट्रहरूलाई नेपाललाई हवाई सुरक्षाको कालो सूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न अनुरोध गरेको परराष्ट्रले जनाएको छ ।

प्रतिनिधिमण्डलको तर्फबाट नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले सम्बोधन गर्दै नयाँ सरकारप्रति युरोपेली संघका सदस्य राष्ट्रहरूको समर्थनलाई पुनः पुष्टि गर्न, नेपालमा इ–गभर्नन्स (विद्युतीय सुशासन) र डिजिटाइजेसनमा युरोपेली संघको विशेषज्ञता आदानप्रदान गर्नेलगायतका विषयमा आफूहरू आएको बताइन् ।