धनुषा । सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु. १४ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक भीम शिष्टका अनुसार जिल्लाका सीमावर्ती तथा विभिन्न क्षेत्रमा सञ्चालन गरिएको विशेष निगरानी तथा जाँच अभियानका क्रममा सो सरसामान बरामद गरिएको हो । बरामद गरिएका सामग्रीमा कपडाजन्य वस्तु, किराना सामान तथा अन्य दैनिक उपभोग्य सामग्री रहेको जानकारी दिए ।
भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा ती सामग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र सम्बन्धित निकायको संयुक्त टोलीले विभिन्न स्थानमा छापा तथा निगरानी बढाएपछि अवैध रूपमा भित्र्याइएका सामग्री फेला परेको जनाइएको छ । बरामद गरिएका सामान आवश्यक कारबाही तथा राजस्व अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी उपरीक्षक बिष्टले जानकारी दिए ।







