किशोर श्रेष्ठमाथि निगरानी र धरपकड प्रयास भएको विषयमा पत्रकार महासंघको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि निगरानी, धरपकड प्रयास तथा धम्कीका गतिविधि भएको भन्दै आपत्ति जनाएको छ । महासंघले यस्ता गतिविधिलाई स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिको प्रहारका रूपमा व्याख्या गर्दै सम्बन्धित पक्षसँग प्रेसविरोधी व्यवहार सच्याउन र कानुनी कारबाहीको माग गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार समाचारसँग सम्बन्धित विषयलाई लिएर पत्रकार श्रेष्ठमाथि प्रहरीमार्फत निगरानी गर्दै धरपकड प्रयास गरिएको तथा विभिन्न व्यक्तिमार्फत धम्की दिइएको विषयप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा केही दिनयता जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री तथा सत्तारुढ दलका नेतासम्बन्धी आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठमाथि उक्त व्यवहार भएको काठमाडौँ शाखाबाट जानकारी प्राप्त भएको उल्लेख गरिएको छ ।

महासंघले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खुलाउन दबाब दिने गतिविधि बढेको जानकारी गराएको जनाएको छ । विज्ञप्तिअनुसार गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्रीको निर्देशनमा यस्ता गतिविधि भइरहेको जानकारी श्रेष्ठले महासंघलाई गराएका छन् ।

महासंघले समाचार लेखेकै आधारमा पत्रकारमाथि गरिएका व्यवहारलाई स्वतन्त्र प्रेस र लोकतान्त्रिक अभ्यासमाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै त्यसको निन्दा गरेको छ ।

विज्ञप्तिमार्फत महासंघले समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ । साथै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्नसमेत माग गरेको छ ।

यस विषयमा नेपाल पत्रकार महासंघसँगै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपालले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठमाथि भइरहेको भनिएको गतिविधिप्रति आपत्ति जनाएका छन् ।

ती संगठनहरूले जनआस्था साप्ताहिकमा प्रकाशित समाचारका कारण पत्रकारमाथि राज्य संयन्त्रको दुरुपयोग गरी निगरानी, धरपकड प्रयास तथा दबाब सिर्जना गरिएको दाबी गर्दै यस्ता गतिविधिले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यतामाथि असर पर्ने उल्लेख गरेका छन् ।

पत्रकार संगठनहरूले समाचारप्रति विमति भए कानुनी तथा संस्थागत संयन्त्रमार्फत समाधान खोज्नुपर्ने धारणा राख्दै प्रेसमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति रोक्न आग्रह गरेका छन् ।