नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बुधबार दूग्ध विकास संस्थान (डिडिसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा हानेको छ।
सिआइबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरिसकेको छ भने दूध खरिदबिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। त्यस्तै, पछिल्ला तीन वर्षको निर्णय पनि सिआइबीले मागेको छ।
‘सिआइबीबाट ८–९ जनाको टोली आएर दूध खरिदबिक्रीका विवरण, मौजदात र किसानलाई भुक्तानी गर्न बाँकी बिवरण मागेको छ, केही विवरण दिइसकेका छौं,’ डिडिसी स्रोतले भन्यो, ‘सञ्चालक समितिका निर्णय पनि माग भएको छ।’
सरकारी स्वामित्वको डिडिसीले किसानबाट दूध संकलन गरेर बजारमा बेच्छ। तर, अझै किसानलाई ५० करोड भुक्तानी गर्न बाँकी छ।







