भक्तपुर । भक्तपुर जिल्ला व्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा आजदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास महाशाखाका संयोजक रवीन्द्र सापकोटाले उद्घाटन गरे। नगरपालिकाले स्थानीय तहबाट खेलकुदलाई प्रोत्साहन गर्ने र दीर्घकालीन रूपमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने गरी वार्षिक कार्यक्रम तयार पारी प्रत्येक महिनामा एक वटा खेल प्रतियोगिता आयोजना गर्दै आएको बताए ।
सबै वर्गका लागि फुटबल प्रशिक्षणदेखि विभिन्न खेल प्रतियोगिता आयोजना गरेर नगरपालिकाले खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिएको बताउँदै उनले बुद्धिचालले मानसिक र बौद्धिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । स्थानीय स्तरमा बुद्धिचाल खेलको विकास, प्रतिभा पहिचान र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
समितिका सदस्यसचिव दीपक थापाले प्रतियोगितामा जिल्लाभरिका ६६ जना खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद रु. १५ हजार, दोस्रो हुनेलाई रु. १० हजार, तेस्रो हुनेलाई रु. पाँच हजार, चौथो हुनेलाई रु तीन हजार र पाँचौँ हुनेलाई रु. तीन हजार नगदसहित महिला तथा पुरुष प्रतियोगीका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
सदस्य सचिव थापाले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने बताए । उनका अनुसार प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।







