कुशल भुर्तेल ‘सिक्सर क्लब’मा, एकै ओभरमा ६ छक्का हान्ने विश्वका छैटौँ खेलाडी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनविरुद्धको खेलमा एकै ओभरका सबै ६ बलमा छक्का प्रहार गर्दै उनले विश्व क्रिकेटको दुर्लभ ‘सिक्सर क्लब’मा आफ्नो नाम दर्ज गराएका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को विवरणअनुसार सन् २०२६ मा चीनविरुद्ध भएको खेलमा यो कीर्तिमान कायम गर्ने भुर्तेल पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासका छैटौँ खेलाडी बनेका छन्।

यसअघि नेपालकै अलराउन्डर दीपेन्द्र सिंह ऐरी ले सन् २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै विश्व क्रिकेटमा चर्चा बटुलेका थिए। कुशलको उपलब्धिसँगै नेपाल पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने दुई फरक खेलाडी भएको पहिलो राष्ट्र बनेको छ।

विश्व क्रिकेटमा एकै ओभरका सबै बललाई सीमा रेखाबाहिर पठाउनु अत्यन्तै दुर्लभ उपलब्धि मानिन्छ। कुशलले यो सफलता हासिल गरेसँगै उनी विश्व क्रिकेटका चर्चित खेलाडीहरूको विशिष्ट सूचीमा समावेश भएका छन्।

चीनविरुद्धको खेलमा भुर्तेलले ४३ बलमा अविजित १२९ रनको विस्फोटक इनिङ्स खेलेका थिए। उनको आक्रामक ब्याटिङ प्रदर्शनले नेपाली क्रिकेटको बढ्दो शक्ति र सम्भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा थप उजागर गरेको छ।

आईसीसी ‘सिक्सर क्लब’मा को–को छन्?
युवराज सिंह (भारत) – २००७, इङ्गल्यान्डविरुद्ध
किरोन पोलार्ड (वेस्ट इन्डिज) – २०२१, श्रीलङ्काविरुद्ध
दीपेन्द्र सिंह ऐरी (नेपाल) – २०२४, कतारविरुद्ध
डारियस विसर (सामोआ) – २०२४, भानुअतुविरुद्ध
मनान बशिर (बुल्गेरिया) – २०२५, जिब्राल्टरविरुद्ध
कुशल भुर्तेल (नेपाल) – २०२६, चीनविरुद्ध