यात्रु कम भएपछि हवाइ भाडा घट्यो, राजधानी फर्किने जहाज रित्ता

असोज २७, काठमाडौं ।
यात्रु कम भएपछि जहाजको भाडा घटेर बसको बराबर हुन लागेको छ । आन्तरिक उडान गरिरहेका विभिन्न कम्पनीले काठमाडौंबाट जाँदा यात्रु उल्लेख्य भए पनि फर्किदा खाली हुने गरेको बताएका छन् ।

दसैंका बेलामा काठमाडौंबाट जिल्ला जानेको चाप छ, तर फर्किने संख्या एकदमै न्यून छ । त्यही कारण काठमाडौं फर्किँदा हवाई सेवा कम्पनीहरूले घटाघटमा यात्रु ल्याइरहेका छन् ।

‘यात्रु नपाएपछि जहाज खाली फर्किनु भन्दा सस्तैमा भए पनि उठाउनुपर्ने बाध्यता छ । त्यही भएर अहिले बसकै बराबर भाडा आएको हो,’ एक वायुसेवा कम्पनीका कर्मचारीले भने, ’काठमाडौं आउँदा यात्रुको खोसाखोस जस्तै छ ।’

उनका अनुसार ६ महिनापछि जहाज संचालनमा आउँदा सुरुमा यात्रुको संख्या राम्रो थियो । तर विस्तारै संख्या घट्दो क्रममा छ । काठमाडौंमा कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले समेत यहाँ आउने यात्रु कम भएको उनी बताउँछन् ।

आन्तरिक उडान गर्ने बुद्ध, श्री, यती र सिम्रिक लगायत वायुसेवा कम्पनीले डिजिटल प्लाटफर्ममा सार्वजनिक गरेको भाडादर ५० प्रतिशतसम्म कम भेटिएको छ । धनगढी–काठमाडौं हवाई भाडादर अहिले ३५ सय रुपैयाँमा झरेको छ । एसी बसमार्फत जाँदा यात्रुले २७ सय रुपैयाँ दिनुपर्छ ।

बस व्यवसायीका अनुसार यो रुट अन्तर्गत संचालनमा रहेका डिलक्स र नर्मलतर्फ बस भाडा प्रति यात्रु क्रमशः २३ सय ७५ रुपैयाँ र १९ सय ८० रुपैयाँ निर्धारण गरिएको छ । लामो दुरी बसबाट यात्रा गर्दा बाटोमा खाना–खाजाले बसका यात्रुको खर्च अझ थपिन्छ ।

यस्तै विराटनगर–काठमाडौंको हवाइ भाडा २ हजार रुपैयाँमा झरेको छ । यही रुटमा बसमार्फत जाँदा यात्रुले १८ सय ७५ रुपैयाँ तिर्नुपर्छ । जनकपुर–काठमाडौंको भाडा दुई हजार रुपैयाँमा झरेको छ । यस्तै भैरहवा–काठमाडौंको भाडा दुई हजार रुपैयाँमा झरेको छ ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले यात्रु कम भएकोले भाडा घटेको बताए । ’काठमाडौंबाट जाँदा अकुपेन्सी ९० प्रतिशत छ । तर फर्किदा यात्रुनै पाइँदैन । त्यसैले भाडा पनि घट्दो क्रममा छ,’ उनले भने । श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले काठमाडौं आउने यात्रुको संख्या एकदमै न्यून भएकाले भाडा घटेको बताए ।