तानसेन (पाल्पा) । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित छन् । जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयकुष्ट रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार जिल्लामा हालसम्म रहेका एचआइभी सङ्क्रमितमध्ये ३५४ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।
विभिन्न कारणले एचआइभी सङ्क्रमण भएकाहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालका ‘एआरटी सेन्टर’ बाट नियमित औषधि सेवन गरिरहेका हुन् । औषधि सेवन गर्नेमध्ये १२ जना बालबालिका रहेका न्यौपानेले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा पाँच जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो ।
जिल्लामा सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने भन्दै क्षयकुष्ट रोग अधिकृत न्यौपानेका अनुसार अपमान, भेदभाव र लाञ्छनाका कारण समाजमा खुल्न सकिरहेका छैनन् । समाज हुनसक्ने तिरस्कारको डरले अझै पनि केही सङ्क्रमित खुल्न नसकेका उनको भनाइ छ । नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशिनेहरू एचआइभीको उच्च जोखिममा रहेका उनले जानकारी दिनुभयो ।
यसैबीच, स्वास्थ्य कार्यालय पाल्पाले सचेतना फैलाउन जनप्रतिनिधि, पत्रकार, प्रहरी र एचआइभी सङ्क्रमित तथा जोखिम समूहबीच अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरूले एचआइभी सङ्क्रमितले नियमित रूपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्नेमा जोड दिएका छन् ।
समयमा, नियमित औषधि सेवन गर्दा भाइरसको प्रभाव नियन्त्रणमा रहने, रोग प्रतिरोधात्मक क्षमता सुदृढ हुने तथा स्वस्थ जीवनयापन गर्न सहज हुने सहभागीहरूले बताएका हुन् । सङ्क्रमित व्यक्तिले एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) नियमित रूपमा सेवन गरेमा शरीरमा भाइरसको मात्रा न्यून रहने क्षयकुष्ट रोग अधिकृत न्यौपानेले बताए ।
सरोकार भएका निकायका प्रतिनिधिले औषधि सेवनमा लापरबाही गर्दा उपचारको प्रभावकारिता घट्न सक्ने र स्वास्थ्य अवस्था जटिल बन्न सक्नेतर्फ सचेत गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले सङ्क्रमितलाई नियमित स्वास्थ्य परीक्षण गराउन, सन्तुलित आहार लिन र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिए ।
नेपाल परिवार नियोजन सङ्घ पाल्पाका प्रबन्धक शोवाकान्त न्यौपानेले एचआइभी लागेका व्यक्तिले नकारात्मक सोच राख्न नहुने भन्दै आधारभूत सेवा, शिक्षा, स्वास्थ्य र रोजगारबाट वञ्चित गराउन नहुनेमा जोड दिए ।
प्रतिबद्ध समूहकी प्रबन्धक अस्मिता भण्डारीले सङ्क्रमितहरू समाजको भय र त्रासले खुल्न नसकेका भन्दै सचेतनाको विकास गरी सङ्क्रमितलाई श्रासरहित वातावरणमा बाँच्न पाउने वातावरण सुनिश्चित गराउन सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिइन् । नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सञ्चारमाध्यमबाट यसबारे सचेतनामूलक सामग्री प्रचारप्रसार गरी समाज परिवर्तनमा भूमिका निर्वाह गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरिन् ।







