ओली र प्रचण्डबीच वार्ता, कर्णाली प्रदेशको विवादका विषयमा छलफल

असोज, २८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डबीच आज पनि छलफल सुरु भएको छ ।

पार्टीमा देखिएका विभिन्न आन्तरिक समस्या समाधानका लागि अध्यक्षद्वयले पछिल्लो समय भेटघाटलाई निरन्तरता दिएका छन् ।

पार्टीको आन्तरिक समस्या देखि रिक्त रहेका विभिन्न नियुक्तिहरुका विषयमा निरन्तर छलफलमा जुटेको स्रोतले जनाएको छ ।

मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकताका बाँकी काम, रिक्त संवैधानिक नियुक्तीका विषयमा निरन्तर छलफल भएपनि बुधवारको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री माथिको अविश्वासको प्रस्तावका विषयमा समेत छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

गत आइतवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथि १८ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि एकाएक तातेको नेकपा भित्रको राजनीतिक माहोल मंगलवार सम्म आपुग्दा विवाद समाधान उन्मुख देखिएको छ ।

यसअघि मंगलवार बसेको ओली प्रचण्डबीचको बैठकले मुख्यमन्त्री शाहीसहित निवर्तमान नेकपा प्रदेश प्रमुख सचेतक गुलावजंग शाह र संसदीय दलका नेता यमलाल कर्णलाई काठमाडौं बोलाई छलफल गर्ने भएपछि विवाद केही मत्थर भएको हो ।